Connect with us
Kapilvast Forest

हुलाकी सडक निर्माण अवरुद्ध

२०७९, २७ पुष बुधबारमा प्रकाशित

वन तथा निकुञ्ज क्षेत्रमा सम्बन्धित निकायले काम गर्न अनुमति नदिँदा हुलाकी सडक आयोजनाको काम अवरोध हुने भएको छ । हुलाकी सडक निर्देशनालयका अनुसार वन तथा निकुञ्जमा पर्ने २५० किलोमिटर सडकखण्डमा आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।

सो क्षेत्रमा आयोजनाको काम अगाडि बढ्न नसक्दा निर्धारित समयमा आयोजनाको काम सम्पन्न नहुने देखिएको छ । सडकमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई-मधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर काम अगाडि बढाएको हो ।

वन र निकुञ्ज क्षेत्रमा सम्बन्धित निकायले काम गर्न अनुमति नदिँदा तथा केही वर्षयता कोभिड–१९ को महामारीका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने देखिएको हुलाकी सडक निर्देशनालयको भनाइ छ । निर्देशनालयका प्रमुख धर्मेन्द्र झाले सम्बन्धित निकायले काम गर्ने अनुमति नदिँदा आयोजनाको काम अपेक्षित रूपमा अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “काम गर्न अनुमति नपाउँदा वन तथा निकुञ्ज क्षेत्रकोे २५० किलोमिटर क्षेत्रमा काम अगाडि बढाउन सकिएको छैन । जसले गर्दा निर्धारित समयमा आयोजनाको काम सम्पन्न नहुने देखिएको छ ।”

पटकपटक आग्रह गर्दा पनि वन तथा निकुञ्ज क्षेत्रमा काम गर्न अनुमति पाउन नसकेको उहाँको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७९/८० सम्ममा यस राजमार्गको निर्माण कार्य सम्पन्न गर्ने निर्धारित समय तय गरेको छ । अब आर्थिक वर्ष २०८२/८३ सम्म आयोजनाको म्याद थप गरी सो अवधिमा काम सम्पन्न गरिने उहाँको भनाइ छ । आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ८२.५ प्रतिशत छ ।

अनुमतिको अभावमा प्रदेश १ र मधेश प्रदेशबाहेकका प्रदेशमा निकुञ्ज र वनजङ्गल क्षेत्रमा यो राजमार्ग निर्माणका लागि रेखाङ्कन गर्न बाँकी नै रहेको निर्देशनालय प्रमुख झाले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज (पूर्वी नवलपरासीसम्म), कपिलवस्तु र दाङ जिल्लामा पर्ने वनजङ्गल क्षेत्र, दाङ र बाँकेमा पर्ने वनजङ्गल क्षेत्र, कैलाली र कञ्चनपुरमा पर्ने शुक्लाफाँटा वन्यजन्तु निकुञ्ज क्षेत्रमा अझै पनि यो राजमार्गको रेखाङ्कन हुन सकेको छैन ।

पूर्व–पश्चिम र उत्तर–दक्षिण गरी कुल एक हजार ८५७ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा अहिलेसम्म कुल ९५० किलोमिटर सडकमा कालोपत्रेको काम सम्पन्न भइसकेको छ भने पाँच सय किलोमिटरको ठेक्का दिने कार्य सम्पन्न भई निर्माण कार्य भइरहेको सो आयोजनाले जनाएको छ । बाँकीको निर्माण ठेक्का लाग्न सकेको छैन । यस आयोजनाअन्तर्गत पूर्व–पश्चिम ९४५ किलोमिटर र उत्तर–दक्षिण ९१२ किलोमिटर सडकको लम्बाइ रहेको छ ।

१३५ वटा पुल निर्माण

हुलाकी सडक आयोजनाअन्तर्गत सानाठूला गरी कुल २५० वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म १३५ वटाको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने ६५ वटा पुल निर्माणाधीन छन् । बाँकी ५० वटाको निर्माण ठेक्का लाग्न बाँकी रहेको निर्देशनालय प्रमुख झाको भनाइ छ ।

आर्थिक वर्ष २०७४/०७५ सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित राष्ट्रिय गौरवका आयोजनामा समेत सूचीकृत यस राजमार्गको निर्माण कार्य आर्थिक वर्ष २०६३/०६४ मा सुरु गरिएको थियो । अहिलेसम्म यो राजमार्ग निर्माण शीर्षकमा भारत सरकारको छ अर्ब ३५ करोड रुपियाँ अनुदानसहित जम्मा ४६ अर्ब २८ करोड रुपियाँ विनियोजन भएकोमा अहिलेसम्मको कुल खर्च ५४ अर्ब रुपियाँ रहेको आयोजना प्रमुख झाले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष २०७९/०८० मा यस आयोजनाका लागि छ अर्ब ७२ करोड रुपियाँ विनियोजन गरिएको छ ।

चिठीपत्र आदानप्रदान गर्ने उद्देश्यसहित राणा शासनकालमा हुलाकी सडकको अवधारणामा यस राजमार्गको निर्माण अगाडि बढाइएको थियो । तराई-मधेशका २० वटा जिल्ला हुँदै निर्माण भइरहेको हुलाकी राजमार्गले त्यस क्षेत्रका ७५ प्रतिशत गाउँबस्तीलाई सडक सञ्जालसँग जोडेर झन्डै आधा जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पु-याउने छ ।

नेपाल र भारतबीच समझदारी

पहिलो चरणमा यस राजमार्गको ६०७ किलोमिटर सडक निर्माणका लागि २७ जुन २००६ मा नेपाल र भारतबीच समझदारी–पत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । समझदारी–पत्रमा नेपाल सरकारकातर्फबाट तत्कालीन परराष्ट्र सचिव भोजराज घिमिरे र नेपालका लागि भारतका तत्कालीन राजदूत शिवशङ्कर मुखर्जीले हस्ताक्षर गर्नुभएको थियो । त्यसैगरी दोस्रो चरणको सडक निर्माणका लागि १५ जनवरी २०१० मा नेपाल र भारतबीच समझदारी–पत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । समझदारी–पत्रमा नेपाल सरकारका तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइराला र भारतका तत्कालीन विदेशमन्त्री एम कृष्णामूर्तिले हस्ताक्षर गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu