राजुनाथ पाण्डेमाथि छानबिन गर्न गठित समितिको म्याद दोस्रो पटक थपियो
काठमाडौं- महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध परेको उजुरीमाथि छानविन गर्न गठित समितिको म्याद पुनः थप भएको छ । महानगरले ८ पुसमा पाण्डेमाथि छानबिन गर्नका लागि समिति गठन गरेको थियो ।
उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएपनि पर्याप्त समय नभएको भन्दै २२ पुसमा छानबिन समितिको म्याद पहिलो पटक थप भएको थियो । दुई साता थप भएको म्याद सोमबार सकिएको हो ।
पहिलो पटक थप भएको समयमा पनि समितिले प्रतिवेदन तयार गर्न नसकेपछि सोमबार दोस्रो पटक म्याद थप भएको छानबिन समितिकी सदस्य कुमारी राईले जानकारी दिइन् ।सोमबारदेखि लागु हुने गरी समितिले एक साताभित्र प्रतिवेदन बुझाउनु पर्ने उनले जानकारी दिइन् । हामीले काम गरिरहेकै छौं, अन्य काम पनिसँगै गर्नुपर्ने भएकोले प्रतिवेदन अन्तिम रुप दिन नसकेका हौं’ राइले भनिन् ।
पाण्डेमाथि एक महिला नगर प्रहरी हवल्दारले आफूमाथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन् ।
महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल संयोजकत्वमा गठित छानबिन समितिमा न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई पनि सदस्य छन् । महिला नगर प्रहरी हवल्दारको निवेदनपछि महानगरले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । पाण्डेले ५ पुसमा आफूबाट गल्ती नभएको भन्दै आफ्नो बचाउ गरेका थिए ।
यस विषयमा विवाद भएपछि नगर प्रहरी प्रमुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै नगर नायब निरीक्षक लोकनाथ चुँडालले राजनीनामा नै दिएका थिए । उनले नगर प्रहरीहरुमाथि माथिल्लो तहबाट पटक–पटक पीडा र दुर्व्यवहार भएपछि राजीनामा दिएको जनाएका थिए ।