धरहराभन्दा अग्लो दमक भ्यू टावर
झापा- दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने हल्ला सुन्दा उहाँजस्तै ढुकुरपानीका बासिन्दाले सुरुमा पत्याएका थिएनन् ।
हेर्दाहेर्दै १८ तलाको टावर बनिसक्यो बाहिरका मानिसहरू के छ कसो हुँदैछ भनेर सोधीखोजी गर्न दिनहुँ आइरहन्छन् गौतम भन्नुहुन्छ तीन वर्षअघि सम्झिँदा यो ठाउँ धान खेतीका लागि पनि त्यति उब्जाउ थिएन अहिले ठूलो सहर बस्लाजस्तो भइसक्यो ।
नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रूपमा दमक भ्यू टावरको निर्माण दमक बजारभन्दा तीन किलोमिटर टाढा ढुकुरपानी गाउँमा २०७६ साल असार २७ गते सुरु भएको थियो । ३० महिनाभित्र कार्य सम्पन्न गर्ने सम्झौताका साथ चिनियाँ कम्पनी सिजिआइइसी र आशिष् ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए ।
कोभिड–१९ को महामारीको दुई लहर कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण यसको निर्माण अवधि डेढ वर्ष धकेलिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले जनाएको छ ।
वि.सं २०८० असार मसान्तभित्र भ्यू टावरको निर्माण सम्पन्न भइसक्ने आयोजनाको चन्द्रगढी कार्यालयका इन्जिनियर भूपेन्द्र यादवले बताउनुभयो । उहाँका अनुसार परियोजनाको ७५ प्रतिशत भौतिक प्रगति छ भने कूल लागतको ६८ प्रतिशत रकम खर्च भइसकेको छ ।
दमक भ्यू टावरको निर्माणले गाउँको नाम नै फेरिएको स्थानीय उमानाथ ढकाल बताउनुहुन्छ । राष्ट्रिय गौरवको दमक भ्यू टावरलाई समृद्धिको प्रतीकका रूपमा लिनुपर्ने उहाँको धारणा छ ।