कालापत्थर देखियो कुमारी हिमाल
पोखरा- यस वर्षको पुस गयो माघ पनि आधा आधि जान लाग्दासमेत कुमारी हिमाल माछापुच्छ्रेले आफ्नो रूप देखाउनै सकेन। अहिले सुदूरपश्चिम र कर्णालीतिर हिउँ परे पनि माछापुच्छ्रेसम्म हिउँ आइपुगेको छैन।
बायाँ धौलागिरि र दायाँ अन्नपूर्ण च्यापेर बसेको माछापुच्छ्रेको कञ्चन हिउँ पग्लेर क्रमशः कालो पहाडमा परिवर्तन हुँदै गएको छ। पोखरा आउने पर्यटकको रोजाइमा परी क्यामरामा कैद हुने माछापुच्छ्रेसँग यतिबेला पर्यटक पनि खुसी छैनन्।
क्यामराका लेन्सले खोजेको माछापुच्छ्रेले आफ्नो रूप लुकाएजस्तो देखिन्छ। पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेकै कुरा आउँछ तर आज माछापुच्छ्रे आफैँ खुसी छैन। अन्य हिमाल आरोहण गरे पनि माछापुच्छ्रेलाई अहिलेसम्म कसैले आरोहण गर्न नसकेकाले पोखरेलीहरू यसलाई कुमारी हिमालको नामबाट सम्बोधन गर्दछन्। पर्यटनविद् झलक थापा भन्नुहुन्थ्यो माछापुच्छ्रे होइन कुमारी हुन्।
तर अहिले कुमारी हिमाल कुमारीजस्तो हुन सकेको छैन। आफ्नो हिउँको घुम्टो उघारेर कालो रूप देखाउने रहर त माछापुच्छ्रेलाई पनि थिएन होला। यसको पछाडिको कारण समयमै खोज्नुपर्ने स्थानीय पर्यटनविद्हरू बताउँछन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा आएका पर्यटकले यतिखेर सफेद, स्वच्छ, मनमोहक हिमालको सुन्दरता अघाउने गरी हेरेर आनन्द लिन नसकेको बताउनुभयो। उहाँले थप्नुभयो हिमालको हिउँ हराउँदै जानुको पछाडिको कारण अन्तर्राष्ट्रिय स्तरबाटै अनुसन्धान गरिनु पर्दछ।