पठान : मोदीको राष्ट्रवाद जोगाउन जासूस बनेका शाहरुख
बलिउड अब जासूसी ब्रह्माण्डका फिल्म बनाउन अग्रसरजस्तो देखिन्छ । मिसन इम्पोसिबल र जेम्स बण्डले विश्व फिल्ममा छाडेका स्पाइ र स्टाइलको पदचापलाई मुम्बैया फिल्मले पछ्याउँदैछ । आज (बुधबार)देखि हलमा रिलिज भएको ‘पठान’ बलिउडमा स्पाइ युनिभर्सको परिकल्पना गर्ने यशराज ब्यानरको अर्को प्रयत्न हो ।
सलमान खानलाई टाइगरको रुपमा पेस गरेको यशराजले यसपटक शाहरुखलाई पठानको जासूसी अवतारमा उभ्याएको छ । रोमान्सका राजा शाहरुखले अब एक्सन र स्पाइ फिल्ममा आफूलाई अघि बढाएका छन् । विश्वगुरु बन्ने बाटोमा हिंडेको नरेन्द्र मोदीको भारतले टाइगर र पठानजस्ता जासूसलाई उभ्याएर बलिउडमार्फत विदेश नीतिलाई संरक्षण गर्न सक्ला यो महत्वपूर्ण प्रश्न हो ।
पठानको केन्द्रमा कश्मीर छ । अब बलिउडको जासूसी ब्रह्माण्ड केन्द्रमा पनि भारत-पाक तनावको विषय बनेको कश्मीर मुख्य विषय बन्ने पक्का छ । वार फेम्ड निर्देशक सिद्धार्थ आनन्दको फिल्म पठानलाई बुझ्न हामीले भारतीय संविधानको धारा ३७० खारेज गर्ने मोदी सरकारको सन् २०१९ को निर्णयलाई बुझ्नुपर्छ । जम्मु र कश्मीरलाई दुई अलग राज्यको रुपमा मान्यता दिने उक्त निर्णयपछि पाकिस्तानले लिन खोजेको बदलाको कथामा पठान आधारित छ । समग्रमा यो एउटा बदला र प्रतिशोधको कथा हो ।