भवनको रङ खुइलिसक्यो गेटामा मेडिकल कलेज अन्योलमै
धनगढी- ६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित कैलालीको गेटामा निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र छ । तर सरकारले यहाँ मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कानुन नबनाउँदा संरचना जीर्ण हुँदै गएका छन् ।
प्रयोगमा नआएपछि भौतिक संरचनाहरु जीर्ण बन्ने रहेछन् । भवनहरुको रंग खुइलिन थालिसक्यो, भित्तामा जालोहरु लागिसके पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले अनलाइनखबरसँग भने ।
गेटा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २९ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन छन् । तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ । यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ ।