Connect with us
Kapilvast Forest

आफ्नै पालिका पुग्न भारतको बाटो

२०७९, २५ माघ बुधबारमा प्रकाशित

बाँकेको सबैभन्दा पिछडिएको र दुर्गम मानिएको नरैनापुर गाउँपालिका पुग्न वडा नम्बर २ रोशनपुर्वाका बासिन्दालाई अहिले पनि भारतीय भूमि तथा बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।

यस पालिकाको वडा नम्बर २ का बासिन्दालाई आफ्नै पालिकामा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। केही वर्षअघिसम्म नेपालगञ्जबाट सो गाउँपालिका पुग्न पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो तर सडक र पुल बनेपछि केही स्थानीयलाई राहत मिलेको छ।

वडा नम्बर २ देखि पालिकासम्म पुग्ने सडक नहुँदा भारतीय सीमासँग जोडिएको रोशनपुर्वा गाउँका बासिन्दाले आफ्नै पालिका पुग्न वर्षौंदेखि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय मोहम्मद मुजम्मिलले बताउनुभयो।

उहाँले सरकारको बेवास्ता र लापरबाहीले गर्दा सो क्षेत्रका बासिन्दा लामो समयदेखि पीडित रहेको बताउनुभयो। रोशनपुर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाउँपालिका र सदरमुकाम नेपालगञ्जसम्म आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दा अझै पनि भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँको भनाइ छ।

उहाँका अनुसार बाटो नहुँदा यस क्षेत्रका बालबालिकाले विद्यालय जान पाएका छैन्न। नियमित रूपमा लगाइने खोपसहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट समेत वञ्चित छन्। छ किलोमिटर बाटो तय गर्न भारतीय बाटो प्रयोग गर्दा १५० रुपियाँ भाडा र अढाई घण्टा समय लाग्छ।

नरैनापुर गाउँपालिकाले करिब तीन करोड रुपियाँको लागतमा रोशनपुर्वादेखि पालिकासम्म पुग्ने सडक निर्माण सुरु गरेपछि स्थानीयवासीलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह अब केही समयपछि सो क्षेत्रका बासिन्दाले आफ्नै देशको बाटो प्रयोग गरेर निर्धक्क भई पालिकालगायत अन्य ठाउँमा आवागमन गर्न पाउने बताउनुहुन्छ। यस गाउँपालिकासँग रोशनपुर्वालाई जोड्ने सडक निर्माण सुरु गरिएकाले रोशनपुर्वाका नागरिकलाई भारतको भूमि प्रयोग गर्नुपर्ने छैन।

गाउँपालिकाका योजना शाखा प्रमुख प्रकाश अधिकारीले छ किलोमिटर बाटो निर्माण सुरु गरिएको जानकारी दिँदै पाँच महिनाभित्रै सडक निर्माणको काम सम्पन्न गरिने जानकारी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu