ईपीएस कृषिको भाषा परीक्षा सुरु
काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ पहिलो चरणको भाषा परीक्षा सुरु भएको छ । माघ १८ गतेदेखि सुरु भएको यो परीक्षा फागुन ५ गतेसम्म सञ्चालन हुनेछ ।
सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि सो परीक्षा लिइएको हो । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको छ । दोस्रो चरणको परीक्षा आउँदो फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने सो शाखाले जनाएको छ ।
दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका छन् । ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले गत वर्षदेखि नै यूबीटी (युबिक्युट्स बेस टेस्ट) ट्याबमार्फत भएको परीक्षा विगतको तुलनामा मर्यादित र व्यवस्थित भएको दाबी गर्नुभयो ।
उहाँका अनुसार अघिल्ला वर्षहरूमा भाषा परीक्षा पेपर बेस टेस्ट (पीबीटी) रूपमा गरिँदै आएकामा एक वर्षयता यूबीटी (युबिक्युट्स बेस टेस्ट) ट्याबमार्फत गरिँदै आएको छ । यसअघिका परीक्षामा नक्कली विद्यार्थी धेरै हुने गरे पनि अहिलेको परीक्षा प्रणालीअनुसार परीक्षाको रोस्टरमा परेका अघिल्लो दिन बायोमेट्रिक गरेर मात्रै परीक्षा दिने व्यवस्था गरिएकाले त्यो समस्या नभएको ईपीएस शाखाका निर्देशक कटुवालले जानकारी दिनुभयो ।