हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा
दाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्तरूपमा आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको जानकारी दिनुभएको हो ।
मन्त्री शर्माले समयसापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको र मिडिया क्षेत्रमा देखापरेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम भइरहेको बताउनुभयो ।
आगामी दिनमा पत्रकार र सञ्चार क्षेत्रको सवलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले लोककल्याणकारी विज्ञापन कटौतीले साना मिडिया मारमा परेका जस्ता समस्या समाधान गर्न आग्रह गर्न भएको थियो ।