दाताको भरमा आश्रम सञ्चालन
दमौली- तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण गरिरहेको महासङ्घ तनहुँका उपाध्यक्ष बलबहादुर रानाभाटले जानकारी दिनुभयो ।
जसको घरजग्गा छैन जसको छोराछोरी हुनुहुन्न त्यस्ता ज्येष्ठ नागरिकलाई आश्रमले आश्रय दिइरहेको छ उहाँले भन्नुभयो । आश्रममा रहेका ज्येष्ठ नागरिक आफैँले तरकारी उत्पादन गर्नुहुन्छ । आश्रममा आठ गाई पालिएको छ । गाईको स्याहारसुसार पनि ज्येष्ठ नागरिकले गर्दै आउनुभएको छ ।
आश्रम नजिक रहेको जग्गामा आफैँले तरकारी उत्पादन गर्नुहुन्छ, तरकारी बाहिरबाट किन्न पर्दैन”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई बिहान–बेलुका नै दूधको व्यवस्था गरिएको छ ।
आश्रमका हरेक कोठामा नुहाउनका लागि तातोपानीको व्यवस्था गरिएको छ । यसका लागि आश्रममा सोलार जडान गरिएको छ । उक्त आश्रम दाताको सहयोगमा सञ्चालित छ । सरकारी तवरबाट कुनै सहयोग नरहेको र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको चन्दाबाट आश्रम सञ्चालनमा सहयोग पुगेको रानाभाट बताउनुहुन्छ ।
व्यास नगरपालिका–५ चापाघाटमा विसं २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो ।