चौरासी प्रतिशत घरधुरीमा खानेपानी
बैतडी- बैतडीका ८४ प्रतिशत घरधुरी खानेपानीको पहुँचमा पुगेका छन्। खानेपानीको पहुँच पुग्न बाँकी १६ प्रतिशत घरधुरीमा खानेपानी पु-याउन १४४ वटा खानेपानीका क्रमागत योजना चालू अवस्थामा छन्।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीका अनुसार बैतडीका १० स्थानीय तह र ८४ वडामा करिब ४५ हजार घरधुरी छन्। पहुँचबाट टाढा रहेका घरमा खानेपानी पु-याउन आठवटा लिफ्टिङ प्रविधिका गरी १४४ वटा खानेपानी योजना निर्माणाधीन अवस्थामा छन्।
उहाँका अनुसार अग्लो डाँडा रहेका बस्तीमा खानेपानी पु-याउन खोलाबाट पानी तान्न आठवटा लिफ्टिङ प्रविधिका योजना बनिरहेका छन्। बाँकी रहेका बस्तीमा छिट्टै खानेपानी पु-याउने लक्ष्य राखिएको छ।
बैतडीको मेलौली नगरपालिका सिगास गाउँपालिकाको मैनलामा लिफ्टिङ प्रविधिबाट यसै वर्ष सबै घरधुरीमा पानीको धारा पु-याउने लक्ष्यसाथ काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जानकारी दिएको छ। सिगास गाउँपालिका–३ मैनोलामा एक हजार मिटर लामो लिफ्ट प्रविधिबाट पानी पुगेपछि धारा निर्माण भइरहेको उपभोक्ता सुन्दरसिंह धामीले बताउनुभयो।