चट्टानले सडक निर्माणमा समस्या
रुकुमपूर्व- कडा चट्टानसहितको पहरा नहुँदो हो त देउखोला–जामाबागर पैदलयात्रा गर्नेले यतिबेलासम्म गाडीको सुविधा पाइसक्थे होलान्। कडा पहराका कारण सडक निर्माण हुन नसक्दा सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिकाका बासिन्दाले दुःख पाइरहेका छन्।
पुथा उत्तरगङ्गा गाउँपालिका–१४ को देउखोलादेखि कडा चट्टान भएकै कारण सडक निर्माण चार वर्षदेखि ‘ज्यूँका त्यूँ’ अवस्थामा छ। चार वर्षअघि देउखोलासम्म गाडी पुगेको थियो।
देउखोलाभन्दा अघि निर्माण थालिए पनि सडक निर्माणले प्रगति लिन सकेको छैन। पहरा भएकै कारण सडक निर्माण अघि नबढ्दा सर्वसाधारण पैदलै हिँड्न बाध्य छन्। सरसामग्री पनि पिठ्युँमा बोकेर ओसार्नुपर्छ।