बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु
नेपालगञ्ज- बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । केही दिनयता रुघाखोकीका बिरामी बढ्न थालेपछि यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सङ्क्रमण फेरी बढ्न सक्ने भएकाले बुस्टर खोप लगाएको ६ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेकाहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
५५ वर्ष उमेर माथिका सबै स्वास्थ्यकर्मी गर्भवती १२ वर्ष माथिका दीर्घ रोगी रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर बुस्टर डोज दिन थालिएको फोकल पर्सन श्रेष्ठको भनाइ छ ।
कोभिड–१९ सङ्क्रमण भएकाहरूले पनि सङ्क्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज लिन मिल्ने उहाँले बताउनुभयो । बुस्टर मात्रा खोप लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।