महाकाली तर्न डुङ्गाको प्रयोग
डडेल्धुरा- भारतसँग सीमा जोडिएको भित्री मधेशको जोगबुडा क्षेत्रको महाकालीमा पुल नहुँदा स्थानीय जोखिम मोल्दै महाकाली नदी वारपार गरिरहेका छन्। भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न महाकालीमा पुल नहुँदा जोखिम मोलेर स्थानीय डुङ्गाबाट नै वारपार गर्दै आएका हुन् ।
महाकाली तरेपछि भारतीय सीमामा कालोपत्रे सडक छ औषधि उपचारका लागि समेत भित्री मधेशवासी भारतको खटिमा बरेली बजारका अस्पतालमा पुग्ने गरेको वडा नं. ६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो।
परशुराम नगरपालिका–५ परिगाउँस्थित महाकाली नदीको बाङ्घाट र वडा नं. ६ को सिसमझालामा नदी तर्ने दुईवटा घाट छन्। यी दुई घाटबाट दैनिक सयौँको सङ्ख्यामा स्थानीयवासी महाकाली नदी वारपार गर्ने गर्छन्। रोजगारीको सिलसिलामा भारतका विभिन्न सहर पुग्ने भित्री मधेशवासी यही घाटबाट डुङ्गा तर्दै वारपार गर्दै आइरहेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गत चुनावमा महकाली नदीमाथि परशुराममा मोटरेबल पुल बनाउन पहल गर्ने बताएकाले पुल बन्छ भन्ने आशा पनि स्थानीयवासीमा छ। नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले महाकाली नदीमा पुल बनाउने पार्टीको एउटा मुख्य एजेन्डा रहेको जनाएका छन् ।
महाकाली नदीमा पुलको माग गरे पनि हालसम्म कुनै सुनुवाइ हुन नसकेको वडाध्यक्ष सिंहले जानकारी दिनुभयो । दुईवटै घाटमा डुङ्गा सञ्चालन गर्न वडा कार्यालयले बढाबढीमा मोलमोलाइ गरेर ठेक्का सम्झौता गरेको उहाँले बताउनुभयो। दुईवटै घाटमा वार्षिक डेढ/डेढ लाख रुपियाँका दरले डुङ्गा सञ्चालकलाई ठेक्का दिइएको उहाँले बताउनुभयो ।