विदेश जाने युवालाई दुःख नदिनुस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको छ । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको हो।
बैठकमा प्रधानमन्त्रीले भन्नुभयो वैदेशिक रोजगारीमा जाने युवाले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरेको छु। पासपोर्ट बनाउँदा मेडिकल टेस्ट गर्दा अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाले दुःख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्। दुःख दिने आलटाल गर्ने ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।
यस्तो छ प्रधानमन्त्रीको बुँदागत निर्देशन
आजको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा भएको प्रस्तुतिले चालु आर्थिक वर्षको हालसम्मको अवस्था उजागर गरेको छ। मन्त्रालयले आफ्नो वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमका बाँकी कामहरू समयमा नै सम्पन्न गर्ने मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण विकास निर्माणमा सहजीकरण विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सेवा प्रवाह र सुशासन कायम गर्ने सवालमा आगामी दिनमा पनि लागिपर्नु हुने नै छ।