इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु
लहान- सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो ।
घाइते ३५ वर्षीया बवी वीवी र ४० वर्षीया ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।