Connect with us
Kapilvast Forest

शरणार्थी: राज्यविरुद्ध कसुर, सङ्गठित अपराध र ठगीमा मुद्दा चलाउन माग

२०८०, ९ जेष्ठ मंगलवारमा प्रकाशित

मित्र भण्डारी-
काठमाडौँ – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा नेपाल प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अनुसन्धान पूरा गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको रायसहितको प्रतिवेदनमा प्रहरीले त्यस्तोसिफारिस गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले २०७९ चैत १२ देखि सुरु गरेको अनुसन्धान ५८ दिनमा पूरा गरेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपय अभियुक्तविरुद्ध जाहेरी आउन सक्ने र सङ्गठित अपराधमा संलग्न अन्य आरोपितलाई समेत कानुनी दायरामा ल्याउन मिल्ने गरी पूरक प्रतिवेदन पुनः पेस गर्ने विकल्पसहितको अनुसन्धान प्रतिवेदन बुझाएको परिसरले जनाएको छ।

परिसर प्रमुख दानबहादुर कार्कीले अनुसन्धान प्रतिवेदनमा ३० जना अभियुक्तले २७ करोड ५० लाख ७४ हजार पाँच सय रुपियाँ ठगी गरेको पाइएको जानकारी दिनुभयो। उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका व्रmममा २३ वटा उजुरीमार्फत ११३ जना पीडितले जाहेरी दिएको जानकारी दिनुभयो। जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको १७८ पृष्ठको रायसहितको प्रतिवेदनमा पक्राउ परेका १६ जना र पक्राउ पुर्जी जारी भएपछि फरार भएका १४ जनामाथि सङ्गठित अपराध, ठगी तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय पेस गरिएको छ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईको भूमिका प्रमुख देखिएको अनुसन्धानबाट खुलेको छ।

यसै गरी यस प्रकरणमा पक्राउ परेका सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राईका छोरा निरज राई र तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा र रायमाझीका छोरा सन्दीप रायमाझीको भूमिका बिचौलियाको रहेको खुलेको छ। सागर थुलुङ राई, टङ्क गुरुङ, गोविन्दकुमार चौधरी, गजेन्द्र बुढाथोकी र सन्देश शर्मालगायतका अभियुक्तले पीडितहरूसँग प्रत्यक्ष रूपमा रकम असुल गर्ने गरेको पाइएको छ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले नेपाल प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालमा पेस भएको जानकारी दिनुभयो। उहाँले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर यस प्रकरणमा अभियोग दर्ता गर्ने/नगर्ने निर्णय गरिने बताउनुभयो।

न्यौपानेले भन्नुभयो, “अनुसन्धानबाट फेला परेका प्रमाणलाई अध्ययन गरी अदालतमा मुद्दा दर्ता गर्ने/नगर्ने यकिन गर्छौं। कसुर गरेको प्रमाणित हुने आधार देखिएमा कुन प्रतिवादीलाई कुन अभियोगमा अदालतमा मुद्दा दर्ता गर्ने भन्ने निर्णय हुन्छ।”

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै लाखौँ रकम असुल गरिएको भन्दै पीडितको जाहेरीपछि प्रहरीले चैत १२ देखि अनुसन्धान सुरु गरेको थियो। टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे, संविधान सभा सदस्य आङ्टावा शेर्पा, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी अधिकारकर्मी नेता टेकनाथ रिजाल, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, टङ्क गुरुङ, सन्दीप शर्मा, नरेन्द्र केसी, सागर राई, सन्देश शर्मालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

अनुसन्धान प्रतिवेदनमा प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, राजेश अर्याल, लक्ष्मी महर्जन, धीरेन राई, मोहनराज राई, निरज राई, सुनिता बुढाथोकी, विनिता लिम्बू, दीपा हुमागाईं, निरञ्जनबहादुर खरेल, आशिष बुढाथोकी र अशोक पौडेललाई फरार अभियुक्तको सूचीमा राखिएको छ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा २०७६ वैशाखमा कार्यदल गठन भएको थियो। शरणार्थी समस्या नेपाल र भुटानबीचको रहे पनि सो कार्यदलले दोस्रो मुलुकसँग कुनै समन्वय र छलफलसमेत नगरेको खुलेको छ। शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको नेपालस्थित कार्यालयसँग समेत यसबिचमा समस्या समाधानबारे कुनै छलफल भएको नदेखिनुले विशुद्ध ठगी गर्ने उद्देश्य रहेको प्रहरीको दाबी छ।

सभारः गोरखापत्र

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu