Connect with us
Kapilvast Forest

गेटामा विश्वविद्यालय माग्दै सुदूरपश्चिम ठप्प, ५ बन्दकर्ता पक्राउ

२०८०, २८ जेष्ठ आईतवारमा प्रकाशित

धनगढी-कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आमहड्तालको घोषणा गरेको हो ।
समितिका संयोजक लोकराज पाण्डेले आजको आमहड्तालमा यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरूले ऐक्यबद्धता रहेको बताए । आमहड्ताल बिहान ८ देखि साँझ ६ बजेसम्म रहने जनाइएको छ ।

यसैबीच यहाँको शैक्षिक सङ्घ संस्था, कल कारखाना, यातायातलगायत बिहानैदेखि चल्न सकेका छैनन् । यसैबीच सुदूरपश्चिमस्थित संयुक्त यातायात व्यवस्थापन मूल समितिले बन्दमा आफ्नो ऐक्यबद्धता जनाउँदै यातायातका साधन नचल्ने जानकारी गराएको छ ।

मूल समितिका संयोजक पदमराज सापकोटाले एक विज्ञप्ति नै जारी गर्दै सो कुरा जनाएको हो । सङ्घर्ष समितिले केही सातादेखि आन्दोलनको घोषणा गरेको हो ।सरकार विरुद्ध प्रदर्शन गर्दै आएको सङ्घर्ष समितिले आज आमहड्ताल गरेको हो ।

सङ्घर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद् र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ । सरकारले जेठ १५ गते संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शय्याको मात्रै अस्पतालमा सीमित पारेपछि स्थानीयले सङ्घर्षको कार्यक्रम घोषणा गदै आन्दोलित भएका हुन् ।