गगन थापाको प्रश्न-एउटै मान्छे ५–६ पटक प्रधानमन्त्री कुनै देशमा हुन्छ ?
काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लामो समय नेतृत्व नबदलिँदा कांग्रेस, एमाले माओवादीजस्ता पुराना पार्टी संकटमा परेको बताएका छन् ।
कांग्रेसको दोलखा–काठमाडौं संम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले पार्टीहरु जमेको पोखरीजस्तो भएको टिप्पणी गरे ।
‘नेपालमा आज किन पुरानो पार्टी संकटमा छन् थाहा छ ? कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुप्रै कारणमध्येको मूल कारण भनेको ती पार्टीका नेताहरु, खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो’ उनले भने ।
२५/३० वर्षसम्म नेतृत्व नबदलिएका कारण पार्टीहरु संकटमा परेको भन्दै उनले राजनीतिमा पनि अवकाशको व्यवस्था हुनुपर्ने धारणा राखे । ‘हामी कहाँ एक्जिटको व्यवस्था गरिएन । …म उमेरको पनि कुरा गर्दिन, कांग्रेसमा हामीभन्दा पनि पाको एकसेएक जोश भएको, सोच भएको नेताहरु हुुनुहुन्छ । हामी अमेरिकाको बाइडेनको कुरा गर्छौं । त्यही अमेरिकामा एउटा व्यक्ति दुई पटक भन्दा बढी राष्ट्रपति नहुने परम्परा पनि छ नि त । प्रत्येक देशले केही न केही परम्परा बनाएको हुन्छ’ थापाले भने ।
संसारमा कुनै देशमा एउटै व्यक्ति ५-६ पटक प्रधानमन्त्री नहुने बताएका थापाले जिकिर गरे । ‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताइदिनुस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन ।’