Connect with us
Kapilvast Forest

छ जना राजदूत सिफारिस

२०८०, ३१ असार आईतवारमा प्रकाशित

काठमाडौँ- सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ। नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गोरखापत्रलाई बताउनुभयो।

उहाँले भन्नुभयो, “खाली रहेका सातमध्ये छ वटामा सिफारिस भइसक्यो, एउटामा बाँकी छ।” मन्त्रीपरिषद्को बिहीबारको बैठकले मन्त्रालयले सिफारिस गरेका नामलाई अनुमोदन गर्दै राजदूतका लागि सिफारिस गरेको हो। सिफारिस भएका छ जना नै परराष्ट्र मन्त्रालयका सहसचिव अर्थात् पेसागत कूटनीतिज्ञ हुनुहुन्छ। जस अनुसार अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा सहसचिव लोकबहादुर थापा सिफारिस हुनुभएको छ।

त्यस्तै जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका लागि रामप्रसाद सुवेदी सिफारिसमा पर्नुभएको छ। सुवेदी मन्त्रालयको दक्षिण एसिया विभाग प्रमुख र थापा उत्तरपूर्वी एसिया विभागको प्रमुख हुनुहुन्छ।

त्यस्तै आफ्नो कार्यकालको लामो समय मन्त्रालयमै रहनुभएका सहसचिव तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्सका लागि राजदूत सिफारिस हुनुभएको छ। उहाँ अहिले मन्त्रालयको मध्य तथा पश्चिम एसिया र अफ्रिका विभागको प्रमुख हुनुहुन्छ।

त्यस्तै मन्त्रालयको सामान्य प्रशासन विभाग प्रमुखको जिम्मेवारीमा रहनुभएका सहसचिव घनश्याम लम्साल कुबेतका लागि, मन्त्रालयको क्षेत्रीय सङ्गठन विभाग प्रमुख धनबहादुर ओली थाइल्यान्डका लागि र शिष्टाचार विभाग प्रमुख सुधीर भट्टराई फ्रान्सका लागि राजदूत सिफारिस हुनुभएको छ। मन्त्रालयका अनुसार क्यानडाको राजदूत सिफारिस हुन बाँकी छ। त्यसका लागि पनि पहल भइरहेको छ।

सिफारिस भएसँगै अब नियुक्तिको प्रक्रिया संसदीय सुनुवाइमा जान्छ। त्यहाँबाट स्वीकृत भएर अघि बढेपछि बल्ल राष्ट्रपतिद्वारा राजदूत नियुक्त गरिन्छ। त्यसपछि सम्बन्धित देशले स्वीकृति (एग्रिमो) पठाएलगत्तै जिम्मेवारी बहन गर्न राजदूत सम्बन्धित मुलुकका लागि रवाना हुने गर्छन्।

सरकारले राजदूत नियुक्त गर्दा पेसागत र राजनीतिक गरी ५०–५० प्रतिशतको मापदण्ड अनुसार प्रक्रिया अघि बढाउने गरेको पूर्वराजदूत युवनाथ लम्साल बताउनुहुन्छ। नियुक्तिमा सन्तुलन कायम गर्न आधा आधा वा एकातर्फ एक जना बढी अर्थात् १७–१६ गरेर राजदूत पद बाँडफाँट गरेर मिलाउन सकिने अवस्था हुन्छ।

हाल कायम राजदूतमध्ये ११ जना

पेसागत कर्मचारीबाट र १५ जना राजनीतिक नियुक्तिबाट विभिन्न मुलुकमा कार्यरत हुनुहुन्छ। अब सात जना पेसागत सिफारिस भएपछि १७ जना पेसागततर्फका राजदूतको सङ्ख्या पुग्छ। यसले मन्त्रालयबाट राजदूत बन्नेको सङ्ख्या पूरा भएको देखाउँछ। अब बाँकी एक जना राजदूत राजनीतिक कोटाका लागि राखिएको हुन सक्ने अनुमान गरिएको छ।

नेपालको विभिन्न ३० मुलुकमा आवासीय राजदूत, तीन वटा संयुक्त राष्ट्रसङ्घीय मिसनको नियोग र सात वटा महावाणिज्य दूतावास रहेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu