Connect with us
Kapilvast Forest

कपिलवस्तुको मर्यादपुर, रंगपुर र कृष्णनगरबाट ठूलो मात्रामा चामल तस्करी हुँदै

२०८०, २७ श्रावण शनिबारमा प्रकाशित


भारतले चामल रोक्ने,सिमानाको तस्करी कसले छेक्ने ?

कपिलवस्तु-
भारतले चामल निर्यातमा कडाई गर्ने हल्ला चलेसंगै सीमा क्षेत्रमा तस्करी बढेको छ । विगतमा छिटफुट रुपमा हुने गरेको चामल तस्करी ‘सर्टेज’ को चर्चाले खुलेआम हुन थालेको हो ।

विशेषगरी कपिलवस्तुको मर्यादपुर,रंगपुर तथा कृष्णनगर क्षेत्रबाट प्रशासनकै मिलेमत्तोमा ठूलो मात्रामा चामल तस्करी भैरहेको स्रोत बताउँछ । दश गजामै यसरी तस्करी मौलाएपछि नेपाली चामल तथा खाद्य व्यापारीहरु भने चिन्तामा परेका छन् ।

सुरक्षा श्रोतका अनुसार तौलिहवा नजिकैको रंगपुर सीमा क्षेत्रबाट यशोधरा-६ का वडाध्यक्ष राजकुमार कलवार (कांग्रेस),लल्लु गुप्ता, चिनक जैसवाल, मर्यादपुरका रामचन्द्र गुप्ता,शकुन्तला गुप्ता, राहुल,बब्लु गिरीलगायतले चामल तस्करी गर्ने गरेका छन् । उनीहरुले सीमा क्षेत्रबाट भारतीय चामल ल्याउने र त्यसलाई नेपालमा गोदाम गर्ने गर्दछन् ।

सीमा क्षेत्रमै घरेलु तथा साना उद्योग र कर कार्यालयमा गल्ला भण्डार दर्ता गरेका छन् । जसबाट उनीहरुले प्यान बिल तथा अनलाईन गरी बुटवल,घोराही तथा काठमाण्डौ पठाउने गरेको बताइन्छ । यी सबै गतिविधिलाई नजिकबाट देखिरहेको सशस्त्र प्रहरीले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । राजस्व चुहावट नियन्त्रण तथा अवैध गतिविधि रोक्न सीमाका गौँडा-गौडामा तैनाथ सशस्त्रको फौज आफैँ तस्करसँग मिलेमतोमा चामल छिराउन लागेपछि संस्थागत तस्करी बढेको स्थानीय बताउँछन् ।

सुठौली भन्सार श्रोतका अनुसार हालै नयाँ आएका भन्सार प्रमुख चुराबहादुर सर्तुङ्गी यस्ता अवैध चोरी पैठारी नियन्त्रण गर्न खोज्छन् तर उनलाई सुरक्षा संयन्त्रले सहयोग गरेको छैन । त्यहाँस्थित सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र पन्तले ‘२–४ किलो चामल समात्दा राजनीतिक दबाब आउँछ’ भनेर त्यसै पन्छिने गरेको र गस्ती जान अनुरोध गर्दासमेत गाडी बिग्रेको बहाना पारेर टार्ने गरेको भन्सारका कर्मचारीहरुको भनाई छ । ‘हाकिम सोझा छन् बोल्दैनन्,अरुले चासो देखाउन्नन्,अनि कसरी तस्करी नियन्त्रण हुन्छ ?’, एक कर्मचारीले सुनाए ।

भन्सार कर्मचारी श्रोतकै अनुसार चाकरचौडादेखि मर्यादपुरसम्म मात्रै दैनिक १५ टन चामल अवैध बाटो हुँदै नेपाल प्रवेश भैरहेको छ । मर्यादपुर, रंगपुर र पुन्निहवाबाट हुने चामल तस्करीको सबै चाँजोपाजो वडाध्यक्षसमेत रहेका कांग्रेस नेताले गर्छन् । उनले सशस्त्र प्रहरी निरीक्षक पन्तमार्फत जिल्ला तथा प्रदेशसम्म सेटिङ मिलाउने गरेको र त्यसवापत व्यापारीहरुसँग मासिक रकम उठाइरहेको बताइन्छ । सुठौली भन्सारले पटक-पटक इन्स्पेक्टर पन्तले सहयोग नगरेको गुनासो गरे पनि यसबारे सरोकारवालाहरुले चासो नदिएका कारण तस्करी मौलाएको दावी केही व्यापारीको छ ।

पश्चिम कृष्णनगरबाट पनि चामलको तस्करी व्यापक बनेको छ । दैनिक करिब ५ टन चामल अवैध बाटो कृष्णनगरका व्यापारीसम्म पुग्छ । कृष्णनगरमा विशेषगरी स्थानीय सोमनाथ अग्रहरी,उमेश यादव, राकेशमणी त्रिपाठी, लाला गुप्ता,चिन्कु अग्रहरी, रूगुड्डु नाउ, दिपक अग्रहरी, रूश्याम अग्रहरीलगायतले चामलको अवैध कारोबार गर्दै आएका छन् ।

निर्वाध भइरहेको चामल तस्करीमा उनीहरुलाई सशस्त्र प्रहरी बलको असहयोग छैन भने भारतीय एसएसबीबाट समेत छुट छ । तीमध्ये अधिकांशको दोहोरो नागरिकता भएकै कारण दुबैतर्फ चामलको व्यापार चल्ने गरेको हो ।

सभार:जनआस्थाबाट

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu