बयानका लागि नबोलाइएपछि आफैं सीआईबी पुगेर बाबुरामले दिए प्रस्टीकरण
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललितानिवास प्रकरणका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा पुगेर प्रस्टीकरण दिएका छन् ।
बयानका लागि नबोलाइए पनि आइतवार साँझ बाबुराम आफैं सीआईबी पुगेर आफू नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णयका सम्बन्धमा प्रस्टीकरण दिएको नेसपा नेता विश्वदिप पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार भट्टराईले सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीलाई निवासमै बोलाएर घटना विवरणबारे जानकारी दिएका हुन् ।
‘ललितानिवास प्रकरणमा मेरो पालाको मन्त्रिपरषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धताबमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी ) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु । यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका एवं सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न/गराउन एउटा दरो प्रस्थानबिन्दु बनोस् भन्ने कामना गर्दछु,’ बाबुरामले ट्वीटरमा लेखेका छन् ।
यसअघि सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट निर्णय गराउने काममा सहभागी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. भट्टराईलाई समेत अनुसन्धान गर्न आदेश दिएको थियो ।
अदालतको आदेश अवज्ञा गर्दै सत्ता गठबन्धनले पूर्वप्रधानमन्त्रीसँग बयान लिने तयारी रोक्न सीआईबीमाथि दबाब सिर्जना गरेको थियो ।
पूर्व प्रधामन्त्रीसँगको बयान रोक्न दबाब दिएको भन्दै सत्तारुढ दलभित्रै विरोध भइरहेको छ ।