भ्रष्टाचारका फाइल खोज्दै लेखा समिति
काठमाडौं-प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति भ्रष्टाचार र अनियमितताका विषयको छलफलमा केन्द्रित हुन खोजेको छ । विभिन्न विषय तय गरेर समिति सभापति ऋषिकेश पोखरेलले प्रस्तावित विषयमाथि समितिमा छलफल चलाएका छन् भने समिति सचिवालय मार्फत भ्रष्टाचार र अनियमितताको आशंका भएका विषयका फाइल सम्बन्धित निकायसँग माग्न थालेका छन् ।
सांसदहरूको सुझावका आधारमा विषयहरूको प्राथमिकता निर्धारण गरिने बताउँछन् सार्वजनिक लेखा समितिका सचिव एकराम गिरी । उनका अनुसार महत्वपूर्ण विषयहरू एकीकृत गरिएको छ ।
‘राजस्व छली र नेपाली नागरिकले तिरेको करबाट भएका काम-कारबाहीको पारदर्शिताको विषय समितिको क्षेत्राधिकार हो’ सचिव गिरी भन्छन्, ‘एकीकृत भएका विषयहरू प्राथमिकताका आधारमा अगाडि बढ्छन् ।’
समितिले उजुरीहरू पनि खुला गरेको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै परेका उजुरीहरू समेत समितिले एकीकृत गरेको छ । चालु कार्यकाल सुरु भएपछि समितिमा १२ वटा उजुरी परेका छन् ।
समिति सभापति पोखरेलका अनुसार समितिले सम्भावित एजेण्डाको ड्राफ्ट गरेको छ । जसमा प्राथमिकताका आधारमा २० वटा विषय समावेश छन् ।