Connect with us
Kapilvast Forest

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय दाङका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा , सवा तीन करोड भेटियो अवैध सम्पत्ति

२०८०, १७ आश्विन बुधबारमा प्रकाशित

काठमाडौ । दाङको लमहीस्थित जल उत्पन्न प्रकोप कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटको स्रोत नखुलेको तीन करोड १५ लाख ८१ हजार ६४ रुपैयाँ ८० पैसा देखिएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मितिदेखि हालसम्मको आयव्यय हेर्दा उक्त रकमको स्रोत नखुलेको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रानाभाटविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रानाभाटको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा विभिन्न कम्पनीको शेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

रानाभाटले सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ ।

रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दूरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरु खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरुमा रकम जम्मा गरेको आयोगको अनुसन्धानका क्रममा भेटिएको छ ।

आयोगका अनुसार खर्च लागत मूल्य बराबरको भागको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ मात्र राधाविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९९ख० बमोजिम बिगो जफत गर्ने प्रयोजनको लागि प्रतिवादी कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu