Connect with us
Kapilvast Forest

भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ : उपराष्ट्रपति यादव

२०८०, १८ आश्विन बिहीबारमा प्रकाशित

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गायिका लोचन भट्टराईको सङ्गीत तथा स्वरमा रहेको ‘भानुभक्त रामायणको गीति सङ्ग्रह’को आज यहाँ विमोचन गर्दै उहाँले रामायणको श्रवणबाट व्यक्तिलाई आफ्नो कर्तव्यको निष्ठापूर्वक निर्वाह गर्न उत्प्रेरित गर्ने बताउनुभयो ।

“रामायण, महाभारत तथा पुराणले भाषा, साहित्य र संस्कृतिको विकासमा मात्र योगदान गर्दैन, यसले व्यक्तिमा धार्मिकता, अध्यात्मिकता, सामाजिकता, नैतिकता, कर्मशिलता तथा सादा जीवन उच्च विचारको विकासमा पनि टेवा पुर्याउँदछ”, उहाँले भन्नुभयो, “अझ राम नामबाट शान्ति र शक्ति प्राप्त हुने जनविश्वास हिन्दू समाजमा परापूर्वकालदेखि रही आएकै छ । त्यसैले रामायणको अझ बढी महत्त्व छ ।”

उपराष्ट्रपति यादवले राम कथा साहित्यमा वाल्मीकीय रामायणपछि अध्यात्म रामायणको स्थान रहेको उल्लेख गर्दै नेपाली साहित्यमा भने अध्यात्म रामायणले नै प्रमुख स्थान ओगटेको बताउनुभयो । “भानुभक्तले रामायणमा केही मौलिकता थप्दै सामान्य नेपाली जन–जीवनमा भिज्न सक्ने गरी सरल भाषा शैलीमा प्रस्तुत गर्नुभएको छ”, उहाँले भन्नुभयो, “संस्कृतबाट अनुवाद गरिए पनि यो ग्रन्थ पाठ गर्दा मौलिक ग्रन्थ पढे जस्तो अनुभव हुने गर्दछ । मूल रामायणको घटना तथा विषयको अनुवादमा भानुभक्तले प्रयोग गर्नु भएको भाषाको सरलता, लालित्य तथा माधुर्यताका कारण यो नेपालीभाषी माझ अत्यन्तै लोकप्रिय भएको हो ।”

उहाँले काव्यमा हुनुपर्ने तीन गुण (लालित्य, सरलता र विचारको मौलिकता) भानुभक्तको प्रसिद्ध रामायणलगायत अरू फुटकर कवितामा समेत पाइएको उल्लेख गर्दै भन्नुभयो, “भानुभक्तकृत नेपाली रामायण व्यासकृत अध्यात्म रामायणको स्वतन्त्र तथा छोटकरी लेखन हो । यसमा नेपाली भाषामा लेखिएका चार चरणका हजारभन्दा बढी श्लोक छन् ।”

उपराष्ट्रपति यादवले भानुभक्त रामायणको पाठ गर्दा नेपालीपनको अभास जो कोहिले पनि सजिलै गर्न सक्ने बताउनुभयो । “ठाउँ–ठाउँमा यसको नेपाली शैली रुचिकर त छदै छन् अझ अब यो गीति सङ्ग्रहमा आएपछि धेरैका लागि यो झनै रुचिकर बन्ने विश्वास पनि लिएको छु”, उहाँले भन्नुभयो, “भानुभक्त रामायणको रसिलो र सजिलो श्लोक पढ्दा मक्ख पर्ने पाठक अब छन्दबद्ध तथा लयबद्ध गीति सङ्ग्रह श्रवण गर्न पाउँदा झनै हर्षित हुने छन् ।”

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu