रुख काटेपछी ३ करोड १५ लाख जरिवान, चन्द्रौटामा ४५ करोडको योजना अलपत्र
सनिउल्ला धोबी-
कपिलवस्तु-गत जेठ ३ गते बुधबार विहानै स्थानीयले राष्ट्रिय वनमा लगाइएका रुख धमाधम काट्न सुरु गरे । सुरुमा एकजनाले एउटा रुख काटे, त्यसपछि स्थानीयको हुलले धमाधम रुख काट्न सुरु गरे ।
कपिलवस्तु शिवराज ५ चन्द्रौटा बजार छेउमै रहेको राष्ट्रिय वन आधा घण्टाको समयमै १ हजार भन्दा बढी बिरुवा सखाप भयो । स्थानीय भन्छन– “एकदुई जनाले रुख काटेको देखेर हामीले पनि काटेको हौ ठुलो गल्ति भयो ।“
रुख काटिएको क्षेत्रबाट पुर्व ३ सय मिटर नजिकै डिभिजन वन कार्यालय गौतमबुद्ध र २ सय मिटर पश्चिम वडा प्रहरी कार्यालय रहेपनी एक हजार भन्दा बढी रुख काटिदा कसैले रोक्न समेत सकेनन् ।

रुख किन काटियो ।
लुम्बिनी प्रदेश सरकारको लगानीमा ५० शैय्याको प्रदेशस्तरिय अस्पताल निर्माणको क्रममा उक्त रुखहरु काटिएको हो । पहिलो चरणमा रू २० करोड ९६ लाख तीन हजार तीन सय २६ को लागानीमा स्काई सगुन जेभी बुटवलले ठेक्का सम्झौता गरि निर्माणकार्य सुरु गरेको थियो ।
आगामी विसं २०८१ फागुनसम्म भवन निर्माण सम्पन्न हुने गरी पहिलो चरणको रू २० करोड ९६ लाख तीन हजार तीन सय २६ मा स्काई सगुन जेभी बुटवलले ठेक्का सम्झौता गरेको हो ।
स्काई सगुन जेभी बुटवलको लापरबाहीका कारण रुखहरु काटिएको चन्द्रौटाका कृष्ण गैरेले बताउनु भयो । स्काई सगुन जेभी बुटवलका ठेकेदारले बन कार्यालयसगँ समन्वय नगरी एकलौटी तवरले निर्माणकार्य सुरुगर्दा उक्त योजना अलपत्र परेको हो ।
निर्माण कम्पनीको जेसीबीले बिरुवा उखेलेर सडक छेउमा फालेको देखेपछि स्थानीयले बन नै काटन छुट भएको भन्दै भ्रममा परी राष्ट्रिय बनमाथी जाईलागेका हुन ।
राष्ट्रिय वन आधा घण्टाको समयमै सखाप भएपछि नजिकै रहेको डिभिजन वन कार्यालय गौतमबुद्ध चन्द्रौटाले वन क्षेत्रमा चलेको स्काई सगुन जेभीको एक जेसिवी नियन्त्रणमा लियो । एक हप्तासम्म नियन्त्रणमा लिएको जेसीबी पुनं सुटुक्क छाडियो ।
निर्माण कम्पनी स्काई सगुन जेभीले भोगाअधिकार नै नलिई उक्त अस्पतालको निर्माण कार्य सुरु गरेको थियो ।
मन्त्रालयको भनाई ।।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर पुष्पराज पौडेलका अनुसार करिब ९ विघा जग्गा वन मन्त्रालयसगं खरिद गर्ने प्रक्रिया अन्तिम चरण पुगेको बताउनु भयो ।
उहाँले भन्नुभयो “फाइल तयार गरी वन मन्त्रालयमा बुझउने हो अब भोगाअधिकार ल्याउने वित्तिकै अस्पताल निर्माण कार्य सुचारु हुन्छ ।”
स्वास्थ्य मन्त्रालयले फाइल बनाउन मात्र ५ महिनाको समय लगाएको छ ।
लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव मोहनराज काफ्लेका अनुसार वन नियमावली २०७९ अनुसार वन क्षेत्रको जग्गा अन्य कार्य प्रयोजनको लागि भोगाधिकार लिनु पर्ने प्रवाधान रहेको बतउनुभयो । डिभिजन वन कार्यालय गौतमबुद्धले यस विषयमा काम गरिहरको मन्त्रालयका सचिव काफ्लेले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले प्रति विघा ३५ लाख रकम वन मन्त्रालयमा बुझाएपछी तिहार पछी काम सुरु हुने बताउनुभयो । वन मन्त्रालय र स्वास्थ्य मन्त्रालय विच छलफल भएको प्रदेश सभा सदस्य केसीले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले रु ३५ लाखको दरले ९ विघाको रु ३ करोड १५ लाख बुझाउने भएको छ ।
स्काई सगुन जेभीका इन्जिनियर निशान मण्डलले पत्र पाए मात्र काम सुरु गर्नु बताउनुभयो । जेठ देखी वन कार्यालयले काम रोकेको इन्जिनियर मण्डलले जानकारी दिनुभयो । शहरी विकास विभाग मार्फत निर्माण कम्पनीले पत्र पाउने सहमती भएको हो ।
सरकारले कात्तिकबाट शुरु भई करिब १९ महिनामा कार्य सम्पन्न गर्ने जनाएको छ ।
हुर्किए काटिएको रुख ।
गत जेठमा काटिएको सहगोन (लिपिस्टिक) को रुख अहिले हुर्किएको छ । वन कार्यालयले निरन्तर निगरानी गरेपछी काटिएको रुख हुर्किएको सहायक बन अधिकृत प्रेम शंकर गुप्ताले बताउनुभयो । गुप्ताले भन्नुभयो “वन कार्यालयको लगातारको निगरानीले गर्दा काटिएको विरुवा हुर्किएको हो ।” 
अस्पतालको संरचना मोडालिटी ।
सरकारले सो क्षेत्रमा ब्लक ए, ब्लक बी, ब्लक सी, ब्लक डी, ब्लक इ र र्याम्प स्ट्रक्चरको संरचना निर्माण गर्नेछ । जसमा निर्माणको पहिलो चरणमा ५० देखि १ सय कामदारका लागि शिविर र ०.२५ हेक्टर जमिनमा शुरु गरिने जनाएको छ ।
सरकारले तयार गरेको वातावरणीय मूल्याङ्कन अनुसार पहिलो तलामा सोधपुछ, रजिस्ट्रेशन, फार्मेसी, इमेरजेन्सी, अपरेशन थिएटर, लेप्रोसी एण्ड डोट्स, इसीजी, यूएसजी, एक्सरे, पाथ्योलोजी,वासिङ एरिया र एक्टोक्लेभको व्यवस्था हुनेछ ।
त्यस्तै, दोस्रो तल्लामा जेनरल वार्ड, क्याबिन, आइसोलेशन क्यबिन, आइसीयू, मिटिङ रुम, स्टाफ रुम, एडमिनिस्ट्रेशन रुम, मेट्रोन रुम, रिसेप्सन, डाइरेक्टर रुम, वासरुम र लाउड्रीको व्यवस्था हुनेछ ।
सरकारले ६५ हजार वर्गमिटरमा फैलिएको क्षेत्रफलमध्ये अस्पताल भवन २५६४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ भने कर्मचारी वासस्थान ६०८४ वर्गमिटरमा, बगैंचा÷पार्क क्षेत्र ११ हजार ८५२ वर्गमिटरमा, पार्किङ क्षेत्र ३३८६.३२ वर्गमिटरमा, फोहोर व्यवस्थापन ५५७.४२ वर्गमिटरमा र खुल्ला क्षेत्र तथा अन्य क्षेत्रका लागि ४० हहजार ७००.५६ वर्गमिटरको क्षेत्रफल छुट्टाइएको छ ।
सरकारले सो अस्पताल ४५ करोड ३८ लाख रुपैयाँमा आयोजना सम्पन्न हुने अनुमान गरेको छ ।
अस्पतालबाट प्रवाह हुने सुविधाहरु ।
अस्पतालबाट एआईभी÷एड्स, क्षयरोग, औलो, जनावर टाकाइ, कुष्ठरोग, कालाजार, डेंगु, फाइलारियसिस, पाचण प्रणाली सम्बनधी संक्रमण, श्वासप्रश्वास प्रणाली सम्बन्धी संक्रमण, बिबिराजन्य रोग, हाँडे, छाला तथा नरम तन्तु संक्रमण, आँखा सम्बन्धी संक्रमण, नाक र कानाको संक्रमण, मुख सम्बन्धी संक्रमण र प्रजनन तथा यौन रोगको उपचार तथा प्रेषण हुनेछ ।