शिवराजमा २४ घण्टे आकस्मिक र डिजिटल एक्सरे सेवा सुरु
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालले २४ घण्टे आकस्मिक र डिजिटल एक्सरे सेवा सुरु गरेको छ । नागरिकहरुको स्वास्थ्य उपचारमा सहजताको लागि २४ घण्टा उपचार हुने व्यवस्था सहित सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद बेल्वासेले बताउनुभयो ।\
शुक्रवार नगरप्रमुख अजय थापाले रिवन काटेर सेवा सुचारु गर्नुभएको हो । नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै सहज रुपमा स्वास्थ्य पहुच बनाउने योजना रहेको थापाले बताउनुभयो । पालिकाले गर्भवती महिलाहरुलाई निःशुल्क एम्बुलेन्स लगायतका सेवा संचालन गरिरहेको बताउनुभयो ।
थापाले अब लगतै पोष्टमार्टम,जटिल प्रसुति सेवा लगायतका वाहरु सुरु गरिने बताउनुभयो । काम गर्दै गर्दा कहि कतै कमजोरी भएमा सच्याएर जाने थापाले बताउनुभयो । यस क्षेत्रको समग्र विकासको लागि सवै नगरवासिहरुको साथ र सहयोग हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा उपप्रमुख शिवकुमारी थारुले आधारभूत स्वास्थ्य सेवा अस्पतालले २४ घण्टे सेवामा नगर र अन्य ठाउँबाट पनि बिरामीहरु आउने बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुले उपचारमा कुनै पनि हेलचेक्राइ गर्न नहुने थारुले बताउनुभयो । नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारी,उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष इश्वरी पाण्डेले उपचार पद्धतीलाई प्रभावकारी बनाउदै सहज रुपमा स्वास्थ्य उपचार हुने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । आधारभूत स्वास्थ्य सेवा अस्पताल सरकारले प्रदान गर्ने निशुल्क औषधि बाहेक अन्य औषधिमा १५ प्रतिशत छुट सहित उपलब्ध गराइने भएको छ ।