शिक्षकलाई गोली हानेर सीमा क्षेत्रतिर भागे आक्रमणकारी
काठमाडौं- सोमबार मध्याह्न साढे १२ बजेतिर कलैया उपमहानगरपालिका–६, बाराका शिक्षक रुपेश स्वर्णकार (गुड्डु) खाजा लिन घरबाट ५ सय मिटरको दूरिमा रहेको रोजबेरी होटलतिर गएका थिए ।
चाउमिन बोकेर फर्किँदा पौन १ बजेको थियो । उनी प्रधानाध्यापक रहेको बाल एकता बोर्डिङ स्कुल र उनको घर नजिकै थियो । वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार, स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा भएका अज्ञात व्यक्तिले घेरे ।
‘मोटरसाइकल कुदिरहेको थियो, उहाँको अगाडि एउटा र पछाडि अर्को मोटरसाइकलले उनलाई पछ्याएछ’, लोहारले अनलाइनखबरसँग भने, ‘उहाँले भाग्ने प्रयास गर्दै स्पीड बढाउनु भयो, तर अगाडि पट्टी रहेको मोटरसाइकलमा सवार दुईजना मध्ये पछाडि बस्नेले गोली चलाएछन् ।’
त्यसक्रममा रुपेशलाई कम्तिमा ५ राउण्ड गोली लागेको छ ।