Connect with us
Kapilvast Forest

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान माग गर्दै ३२ संस्था आन्दोलनमा

२०८०, १४ कार्तिक मंगलवारमा प्रकाशित

रुपन्देहीको भैरहवामा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गर्दै व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् । उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी क्षेत्रको अर्बौं लगानी डुब्न लागेको भन्दै व्यवसायीले रिले अनसन बस्नेदेखि आन्तरिक उडान रोक्ने र सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

विमानस्थल बनाउन मुआब्जासहित करिब ४० अर्ब लगानी भएको छ । विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट पाँचतारे सहित तारे होटेल र अन्य व्यवसायमा झण्डै ८० अर्ब लगानी भएको छ । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने भन्दै व्यवसायी चिन्तामा छन् ।

निजी क्षेत्र र सामाजिक संघसंस्थाका गरी ३२ वटा संस्था आबद्ध सिद्धार्थ संजाल रुपन्देहीले सोमबारदेखि ३५ दिनको अल्टिमेटम दिएर आन्दोलन घोषणा गरेको संजालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।

सञ्जालले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने, १५ गतेदेखि विभिन्न क्षेत्रका संघसंस्था, ट्राभल्स, एयरलाइन्सलगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका, गाउँपालिकालगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरुलाई भेटी आन्दोलनमा ऐक्यबद्धताका लागि आग्रह गर्ने जनाएको छ ।

यसैगरी, आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरुलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने र नियमित उडानको माग गर्दै भैरहवामा शान्तिपूर्ण ¥याली गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

आन्दोलनका कार्यक्रममा दुई दिन विमानस्थलको गेट अगाडि धर्ना दिने र त्यति गर्दा पनि माग सम्बोधन नभए मंसिर २५ पछि आन्तरिक उडान अनिश्चितकालका लागि रोक्न विमानस्थलको गेटमा धर्ना दिने र सीमा नाका बेलहियासमेत ठप्प पार्ने संयोजक ज्ञवालीले बताए । ‘विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न सबै क्षेत्रमा हारगुहार गर्यौं, तर कसैले नसुनेपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिन थाल्यौं’, संजालका अध्यक्ष ज्ञवालीले भने, ‘यसपटक निर्णायक आन्दोलन गर्ने गरी कार्यक्रम घोषणा गरेका हौं । नियमित उडान नभएसम्म आन्दोलनलाई थप कडा बनाउँदै लैजान्छौं ।’

विमानस्थल पूर्ण क्षमतामा नचल्दा व्यवसायीसँगै सरकारको अर्बौं लगानी डुब्ने अवस्थामा पुगेको सञ्जालका उपाध्यक्ष सीपी श्रेष्ठले बताए । उनले काठमाडौंका केही व्यवसायीले निहीत स्वार्थका लागि योजनाबद्धरुपमा गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नदिएको आरोप लगाए ।

संजालका महासचिव संजय बजिमयले विमानस्थललाई लक्षित गरी ठूला होटेलमा अर्बौं लगानी भए पनि अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा व्यवसाय संकटमा परेको र सरकारले व्यवसायीका मागप्रति बेवास्ता गर्दा व्यवसायी आत्महत्या गर्ने अवस्थासम्म पुगेको बताए ।

२०७९ जेठ २ गते उद्घाटन भएको विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । उद्घाटनकै दिनबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरलाइन्सले केही समयपछि नै आफ्ना उडान रोकेको छ । यस्तै, केही समय चार्टर्ड उडान भरेको हिमालय एयरले पनि उडान रोकेको छ ।

अहिले नेपाल एयरलाइन्सले सातामा एक उडान मात्र गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu