५ वर्षपछि प्रहरीले फेरि खोल्दैछ ‘हाइप्रोफाइल मर्डर’ को फाइल
थापाथलीमा भएको पूर्वराजदूत केशवराज झा हत्याको फाइल प्रहरीले पाँच वर्षपछि फेरि खोलेको छ । हत्या आरोपमा पक्राउ गरिएका भान्छे सानुकान्छा तामाङलाई जिल्ला अदालत, काठमाडौं र उच्च अदालत पाटनले सफाइ दिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले यो प्रकरणको अनुसन्धान फेरि थालेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीले प्रहरीले पुरानो फाइल अध्ययन गरिरहेको अनलाइनखबरसँग बताए । उनले भने, ‘अदालतबाट आरोपीले सफाइ पाएपछि फेरि पुरानो फाइलको अध्ययन थालेका छौं ।’
थापाथलीस्थित घरमा ४ भदौ २०७५ मा झा आफ्नो कोठामा मृत अवस्थामा फेला परेका थिए । त्यसबेला प्रहरीले भान्छे सानुकान्छा र दुई जना मालीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । तर, प्रमाण फेला नपरेको भन्दै तिनै जना धरौटीमा छुटेका थिए ।