कलाकार सिर्जना र संस्कृतिका संवाहक हुन् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।
नातिकाजी स्मृति समाजले शीतलनिवासमा सोमबार आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्त्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको धारणा व्यक्त गर्नुभयो ।
“सिर्जना राष्ट्रका सम्पदा, संस्कृति राष्ट्रका पहिचान र कलाकार राष्ट्रका अमूल्य निधि हुन्”,उहाँले भन्नुभयो, “कलाकार सिर्जना र संस्कृतिका संवाहक हुन्, कलाकारका साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने गर्छ ।” उहाँले नेपालको भौगोलिक विविधता र सांस्कृतिक विशिष्टता नै विश्वमा पृथक् पहिचानका रूपमा रहेको र यहाँको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता विश्वमै नमुना रहेको उल्लेख गर्दै नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको बताउनुभयो ।
“विविध जाति र उनीहरूको भाषा, संस्कृति, गीत, सङ्गीतको एकता नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरूप हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।