प्रकृति संरक्षण मानव जातिको साझा चुनौती : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण आज मानव जातिको साझा चासो र चुनौतीको विषय बनेको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा शनिबार यहाँ आयोजित वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “किनभने अहिलेको विश्व जलवायु परिवर्तनलगायतका वातावरणीय चुनौतीहरूको शिखरमा उभिएको छ, त्यसबाट नेपाल पनि अछुतो छैन । वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र गहिरो अभिरुचिसमेत बढिरहेको छ ।”
प्रकृतिको अनुपम जैविक सृष्टिको रूपमा हामीले प्राणी तथा वनस्पति जगतलाई लिने गर्दछौँ र यसले पृथ्वीलाई जीवन्तता प्रदान गरेको छ भन्दै राष्ट्रपति पौडेलले यसलाई सुन्दर सृष्टिको रसास्वादन गर्ने मानवीय आँखाबाट हेर्नेमात्र होइन यसमा मानवीय विवेक, रचनात्मक गुण र क्षमताको माध्यमबाट सकारात्मक योगदान दिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता अनि वन्यजन्तु संरक्षण प्रत्यक्ष रूपमा जोडिएको हुन्छ भन्नुभयो ।