Connect with us
Kapilvast Forest

प्राइम सहकारीमा सीईओ र व्यवस्थापककै योजनामा डेढ अर्ब अपचलन

२०८१, २ जेष्ठ बुधबारमा प्रकाशित

पोखराको प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापकको मिलेमतोमा डेढ अर्ब रुपैयाँ अपचलन भएको खुलेको छ ।

पोखरा महानगरपालिका–४ गैह्रापाटनमा रहेको प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापाको प्रमुख योजनामा ठूलो रकम हिनामिना भएको सहकारी रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय विश्लेषण प्रतिवेदनले निश्कर्ष निकालेको हो ।

रजिस्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको प्रतिवेदनअनुसार प्रमुख कार्यकारी अधिकृत पौडेल र व्यवस्थापक थापा रकम अपचलन गर्ने प्रमुख योजनाकार हुन् ।

रजिस्ट्रार कार्यालय गण्डकीका प्रमुख भेषराज रिजालले पनि पौडेल र थापा नै रकम अपचलनको मुख्य योजनाकार भएको बताए । उनले भने, ‘हामीले चैतबाटै छानबिन थालेका थियौं र छानबिनकै क्रममा पनि मिलाउन सक्ने जति मिलाउनुस् है भनेका थियौं, यो बीचमा उनीहरुले कुनै निकास दिन सकेनन् ।’

उनीहरुले बचतकर्ताको रकम अपचलन गरी विभिन्न व्यक्तिको नाममा जग्गा खरिद गरेको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै नियमनकारी निकायका कर्मचारीलाई घुससमेत दिएको उक्त प्रतिवेदनमा लेखिएको छ ।

वचतकर्ताको रकम घरजग्गामा लगाउने, ऋण दिएको फर्जी खाता बनाउने र मिटरब्याजमा समेत लगाउने गरेर १ अर्ब ५७ करोड रकम हिनामिना गरेको निष्कर्ष सहकारी रजिस्ट्रार कार्यालयले निकालेको छ ।

उनीहरुले सहकारीको नामको सम्पत्ति आफ्नो नाममा समेत राखेको पाइएको छ । ऋणीका सम्पत्ति आफ्ना नाममा हक हस्तान्तरण गरी लिने र ती सम्पत्तिलाई दबाउन विभिन्न व्यक्तिका नाममा लुकाउने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा समस्या आइसकेपछि पनि उनीहरुले ऋणीका जग्गामा आफ्नो हक स्थापित गरेर सम्पत्ति लुकाउन नजिकका मान्छेको नाममा पास गरिएको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

मुख्य योजनाकार पौडेल र थापाकै अगुवाइमा यो सहकारी खुलेको हो । थापा प्राइम सहकारीअघि गितेन्द्रबहादुर (जीवी) राईको सूर्यदर्शन सहकारीमा काम गर्थिन् ।

व्यवस्थापक थापाले आफ्नो बयानका क्रममा सहकारीबाट आर्जन हुने भन्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले ठूलो रकम मागेर लगेको र अहिलेसम्म नबुझाएको बताएकी थिइन् । थापाको बयानलाई पौडेलले पनि स्वीकारेको प्रतिवेदनमा जनाइएको छ ।

सहकारी विभाग काठमाडौंका कर्मचारीलाई पोखराको एउटा रिसोर्टमा घुस दिएको बयान प्राइमका सीईओ पौडेल र थापाले दिएको स्रोतले दिएको छ ।

त्यही प्रतिवेदनकै आधारमा प्रहरीले मंगलबारै पीडित बचतकर्ता तथा सेयर सदस्यलाई उजुरी गर्न आह्वान गरेर प्रमुख कार्यकारी अधिकृत पौडेल, व्यवस्थापक थापा, सञ्चालक समितिका अध्यक्ष शंकर कार्कीलगायत ८ जनालाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सन्तोष शर्माले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu