Connect with us
Kapilvast Forest

साढे दुई हजार विदेशी नागरिकले पाए रोजगारी

२०८१, १५ असार शुक्रबारमा प्रकाशित

रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार युवा विदेश गइरहेका बेलामा नेपालमा भने विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिररहेका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सरकारले दुई हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा उच्च दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।

रोजगारीका लागि दैनिक औसतमा दुई हजार जनशक्ति विदेश पठाउने मुलुक आफैँले भने उच्च दक्ष जनशक्तिको अभाव झेल्नु परिरहेको छ । सरकारले विगतदेखि नै स्वदेशमा उच्च दक्ष जनशक्ति नपाउँदा विदेशी नागरिकलाई काम गर्ने अनुमति दिँदै आएको छ ।

विभागका निर्देशक मणिनाथ गोपले आवको ११ महिनाको अवधिमा नयाँ श्रम स्वीकृति लिने विदेशी श्रमिक घटेको देखिए पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने अघिल्लो वर्षभन्दा बढेको बताउनुभयो ।

विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न आउने विदेशीको सङ्ख्या क्रमशः घट्दो दरमा रहेको देखिन्छ । गत आवको जेठसम्म नवीकरण र नयाँ गरी दुई हजार ६०५ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका थिए । चालु आवमा नयाँ श्रम स्वीकृति र नवीकरण गर्नेको सङ्ख्या दुई हजार ३३६ रहेको छ । यो हेर्दा गत वर्षको तुलनामा यो वर्ष २६९ जनाले घटेको छ ।

विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका, २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ तर सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको सङ्ख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष श्रमिकसमेत नेपालमा आउने गरेको पाइन्छ ।

दक्ष नेपाली श्रमिकले स्वदेशमै रोजगारी नपाउने र विदेशी अर्धदक्ष श्रमिकसमेत नेपालमा प्रवेश गरी काम गर्ने प्रवृत्ति छ । यसले अर्बौं रुपियाँ विदेश जाने गरेको छ । विदेशीले काम गर्ने कतिपय परियोजनाले नेपाली श्रमिकलाई कटौती गरी विदेशी श्रमिकहरू यथावत् राख्ने गरेको पाइएको छ ।

विभागले नेपालमा काम गर्ने विदेशीलाई अधिकतम छ वर्षसम्म मात्र नवीकरण हुने जनाएको छ । यसै गरी एकै प्रकृतिको कामका लागि श्रम स्वीकृति लिने श्रमिकको सिप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम रहेको छ ।

विभागका अनुसार नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । रसुवागढी, त्रिशूली, मध्य भोटेकोसी, काबेली हाइड्रोपावर कम्पनी, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक श्रमिक विदेशी रहेको विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि ६९ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ छन् । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ ।

विभागका अनुसार आव २०७९/८० मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुई हजार ९९४ रहेको छ । जसमा नयाँ एक हजार ३६९ जना रहेका छन् भने श्रम नवीकरण गर्नेको सङ्ख्या एक हजार ६२५ जना रहेको छ । जबकि आव २०७८/७९ मा यो सङ्ख्या दुई हजार १८१ जना थियो । जसमा नयाँ ९५० जना थिए भने श्रम नवीकरण गर्ने एक हजार २३१ जना थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu