लुम्बिनीका मुख्यमन्त्रीलाई राजीनामा दिन एमालेको आग्रह
देउखुरी (दाङ) —केन्द्रमा गठबन्धन फेरिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ ।
पाटी तथा संसदीय दलको तर्फबाट प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले केन्द्रमा कांग्रेस–एमालेबीच सत्ता गठबन्धन भैसकेकाले लुम्बिनीमा पनि केन्द्रकै अनुसार सरकार बनाउन मुख्यमन्त्रीलाई भेटेर राजीनामा दिन आफुले भनेको बताए ।
केन्द्रको ड्राफ अनुसार लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने भएको छ । नेतृत्वका लागि पूर्वमुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता लिला गिरीले तयारी गर्न थालेका छन् । दल उपनेता एवं निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्य पनि मुख्यमन्त्रीको लाइनमा छन् ।
एमाले–माओवादी गठबन्धन भएर पाँच दल र एक स्वतन्त्र सांसदको समर्थनमा महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।’ॅमैले मुख्यमन्त्रीलाई भेटेर पहिला एमाले–माओवादी गठबन्धन थियो, हामी तपाइको नेतृत्वको सरकारमा थियौं,’ उनले भने, ‘अब केन्द्रमा कांग्रेस–एमालेको सत्ता सहकार्य भयो ।
अब हामी कांग्रेससँग मिलेर सरकार बनाउँछौं, तपाई अल्पमतमा पुर्नभयो । परिस्थिति परिवर्तन भएकाले राजीनामा दिएर राजनीति उचाई कायम राख्न भनेको छु ।’
राजीनामाको प्रस्तावमा मुख्यमन्त्री सकारात्मक देखिएपनि आर्थिक वर्षको अन्त्यतिर भएकाले सञ्चालित योजनाहरुको भुक्तानीको काम देखाएर अलमलको प्रतिक्रिया दिएको चौधरीले बताए ।