Connect with us
Kapilvast Forest

हर्क साम्पाङ : अराजकताका उपासक, विवादका पर्याय

२०८१, २१ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं- स्थापित दलहरुलाई प्रश्न गरेर उदाएका ‘स्वतन्त्र’हरुबाट पछिल्ला दुई दिनमा सञ्चारकर्मी लक्षित दुई गम्भीर प्रकरणहरु भए ।

पहिलो, चितवनमा सहकारी ठगीका आरोपी सभापति रवि लामिछानेको सरकारी वकिलसमक्ष बयान चलिरहँदा रास्वपा कार्यकर्ताबाट सञ्चारकर्मी सन्तोष देउजा आक्रमणमा परे ।

रास्वपा कार्यकर्ताको मुक्का प्रहारबाट जोगिँदै उनी सुरक्षित स्थानतर्फ गए । उनलाई भेट्न पुगेका सञ्चारकर्मी प्रकाश ज्ञवाली र प्रतिमा सिलवालमाथि समेत लामिछानेको पक्षमा प्रदर्शन गरिरहेकाले दुव्र्यवहार गरे ।

सञ्चारकर्मीविरुद्ध चितवनमा भएको दुर्व्यवहारविरुद्ध प्रश्न उठेलगत्तै रास्वपाले विज्ञप्ति जारी गरेर ‘सञ्चारकर्मीहरुप्रति पार्टी सदैव सम्मान राख्ने र सुरक्षित राख्नुपर्छ भन्नेमा स्पष्ट रहेको’ बतायो । कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी शुभेच्छुकबाहेक ‘कार्यक्रमलाई विथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भइरहेको’ भन्दै त्यसमा पार्टीको संलग्नता नरहेको जिकिर गरेका छन् । यसपछि रास्वपासँग जोडिएको प्रकरण त तत्काललाई सेलायो, तर तुरुन्तै दोस्रो प्रकरण सुरु भयो पूर्वको धरानमा ।

पहिले स्थापित पार्टीको विकल्प भन्दै मतदाताले चुनेका धरानका मेयर हर्क साम्पाङ जोडिएको यो प्रकरण तत्कालै मत्थर हुने देखिँदैन । खोज पत्रकारिता केन्द्रका लागि धरानका पत्रकार गोपाल दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा मेयरको कार्यशैलीबारे विस्तृत रिपोर्ट लेखेका थिए ।

धरानका पूर्वमेयरहरु, बहालवाला कर्मचारी, वडाध्यक्ष, आम नागरिक लगायतसँग पटक–पटक कुराकानीपछि तयार गरिएको खोजमूलक रिपोर्टले त्यहाँका शृंखलाबद्ध बेथिति र मेयरको विवादास्पद पृष्ठभूमिबारे उजागर गरेको थियो ।

तर, साम्पाङले सामाजिक सञ्जालमा सार्वजनिक सामाचारको एउटा सानो अंशलाई लिएर बिहीबार धम्कीपूर्ण सन्देश लेखे, ‘…नत्र तँ ..को यस्तो बेइज्जत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा, … निकै फुरफुर गरिस् तिमेरुले ऐना हेर्दा थुक्ने बनाइदिन भने मेरो नाम हर्क साम्पाङ होइन ।’

आधा घन्टापछि उनले फेरि फेसबुकमार्फत निर्देशनात्मक सन्देश लेखे, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान–१८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ।’

धरानमा बिहीबार राखिएको पत्रकार सम्मेलनमा साम्पाङ ४ हजार शब्द लामो रिपोर्टको एउटा अंशमा मात्र केन्द्रीत भए । उनले रिपोर्टलाई झ्यास भन्दै पूरा पनि नपढेको बताए । रिपोर्टमा शान्ति प्रक्रियापछि नक्कली माओवादी बनेर चन्दा उठाएको आरोपमा साम्पाङ समातिएको प्रसंग उल्लेख थियो । जतिबेला माओवादीका नाममा चन्दा माग्ने समूहबारे खोजी गर्न पार्टीले टोली खटाएको थियो, त्यसबेला प्रवेश राईलाई चन्दा मागिरहेको सूचना पुगेको भनिएको छ ।

त्यस क्रममा माओवादीको योजना अनुसार, प्रवेशले पैसा लिन धरानको वाणिज्य बैंक अगाडि बोलाएको भनिएको छ । प्रवेशलाई बोलाउँदा मोटरसाइकल चढेर पैसा उठाउन आउने उनै हर्क साम्पाङ रहेको रिपोर्टमा भनिएको थियो ।

साम्पाङलाई वाईसीएलले समातेर धरान–१५ मा रहेको शिविरमा पुर्‍याएको पुष्टि गर्न खोज पत्रकारिता केन्द्रले तत्कालीन इञ्चार्ज प्रवेशसँग पनि कुरा गरेको छ । साम्पाङले रिपोर्टका अन्य विषयहरुलाई छाडेर यही सन्दर्भमा पत्रकारविरुद्ध खनिएको देखिन्छ । जबकि, उनीसँग असन्तुष्टि भएका विषयमा खण्डन सम्प्रेषण गर्ने वा अदालती वा कानुनसम्मत प्रक्रियाहरुमा जाने बाटो खुला थियो ।

राजनीतिक दलप्रतिको वितृष्णाका कारण स्वतन्त्रसँग मतदाताले जे आश गरेका थिए, त्यो साम्पाङको कार्यशैलीका कारण निराशामा बदलिँदै गएको छ – गिरिश भट्टराई, प्राध्यापक, राजनीतिशास्त्र, पूर्वाञ्चल विश्वविद्यालय
साम्पाङले मोटरसाइकलमा वाणिज्य बैंक अगाडि गएको स्वीकारेका छन्, तर चन्दा उठाउने कार्यमा भने संलग्नता इन्कार गरेका छन् ।

‘सम्पूर्ण राई र इन्द्र राईले साथीको नाताले मोटरसाइकल माग्नु हुन्थ्यो, म लानु न त भन्थे । बिहान गएको बेलुकी मात्र ल्याउने हुँदा तेल पनि सकिन्थ्यो’, उनले भनेका छन्, ‘त्यसै गरी एक दिन बाइक माग्ने कुरा आउँदा होइन, मै पुर्‍याइदिन्छु भनेर पुर्‍याउन वाणिज्य बैंकमा जाँदा म अगाडि चलाइरहेको थिएँ, फुल हेलमेट थियो ।’

त्यसबेला आफ्नै जनसरकार चलाउने माओवादीले आफूहरुमाथि दुर्व्यवहार गरेको उनले बताएका छन् । तर, हेलमेट खोलेपछि भने आफूलाई ‘सम्पूर्ण होइन ?’ भनेर सोधिएको र नभएको बताएपछि गल्ती भएको भनेको साम्पाङले जिकिर गरेका छन् । त्यही क्रममा उनले ‘यो देशका कोही सक्कली माओवादी छ र ?’ भन्दै प्रश्न पनि गरेका छन् ।

आफूमाथि उठेका अन्य प्रश्नको जवाफ दिन भने उनले त्यति रुचि देखाएका छैनन् । बेलायत भ्रमण गएका बेला उपमेयर छँदै कानून विपरित आफूनिकट वडाध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएको प्रसंगमा उनले अनौठो तर्क गरे, ‘उपमेयरले शुभयात्रा भन्यो ? उपमेयरले शुभयात्रा सम्म भन्यो ?’

पत्रकारले ‘ऐनले त उपमेयरलाई जिम्मेवारी दिनुपर्छ भनेर लेखेको छ नि ?’ भन्ने प्रश्न गर्दा साम्पाङले आफूले ऐन नै नमान्ने बताए । ‘त्यस्ता नाथे ऐन त हामी बनाउँछौं, जनताद्वारा निर्वाचित मान्छे हुँ म’, उनले थपे, ‘हामी बनाउँछौं, त्यस्ता नाथे ऐन । ऐनमाथि बन्ने ऐन, धरानेलाई समोसा मन परेको छ, उता मःमः खुवाएर हुन्छ ? जसले जेसुकै भनोस् त्यस्ता ऐन हामी मान्दैनौं ।’

खोज पत्रकारिता केन्द्रको रिपोर्टमा कानुनी प्रक्रिया पूरा नगरी धरानको वडा नंं २० र १३ मा श्रम संस्कृति पार्क निर्माण गरिएको उल्लेख थियो । रिपोर्टमा भनिएको छ, ‘न यो पार्क बनाउँदा नगर कार्यपालिकामा छलफल भएको छ, न त वातावरणीय प्रभाव मूल्यांकन नै गरिएको छ ।’

पार्क बनाइएको स्थान पनि जलाधार र वन क्षेत्रमा पर्ने भएकाले संरचना निर्माण गर्न नमिल्ने भनिएको छ । साम्पाङ विषयवस्तुतर्फ त्यति प्रवेश गर्न चाहँदैनन् । बरु भन्छन्, ‘कानून त मैले लेख्छु, त्यो वन कहाँ छ ? धरानभित्र छैन ? धरानको प्रमुख हैन म ? के समन्वय गर्नुपर्ने हो ?’

सर्दु खोला किनारमा कानून विपरीत निर्माण गरिएको पार्क। तस्वीर : गोपाल दाहाल
उनले उल्टै वन कार्यालयलाई पनि धम्की दिए, ‘पानीको बिल तिरेको छ कि छैन ? विचार गर्दैछु । धारा काट्दिएँ भने के गर्छ ?’ खोज पत्रकारिता केन्द्रको रिपोर्टमा साम्पाङले गर्ने अपारदर्शी चन्दा संकलनबारे पनि लेखिएको थियो । साम्पाङले भने विना बजेट धरानमा विकास भइरहेको दाबी गर्दै भने, ‘यस्तो स्रोत व्यक्तिलाई चमत्कारी सत्ता भन्छु, हर्क साम्पाङले जत्तिको यो देशमा कुनै पालिकाले विकास गर्न सकेको छ ?’

यो बताउँदै गर्दा उनले पत्रकारमाथि उल्टै आर्थिक विषयसँग जोडेर अनर्गल आक्षेप लगाए, ‘.. लगायतको आर्थिक जीवनको स्रोत के हो ?’ उनले फटाहा, चोर, ग.. जस्ता शब्द प्रयोग गर्दै आफूले गरेको विकास नदेखेको उल्लेख गर्दै टिप्पणी गरे, ‘खानु नपाउने मान्छेलाई विपन्नको भनेर खाद्यान्नको बजेट बनाएको छु, आउनुस् ।’

उनले पत्रकार सम्मेलनमा अदालत र प्रहरीले साथ दिए तह लगाइदिने बताए । कसैलाई धम्क्याउन नपाइने कानुनी व्यवस्था रहेको स्थितिमा सार्वजनिक रुपमै सार्वजनिक व्यक्तिले धम्की दिनु अपराध ठहर्ने प्रेस काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहाल बताउँछन् ।

‘धरानको घटनामा उहाँले असुरक्षित महसुस गरेको छु भन्नुभएको छ, त्यो स्थिति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण र निन्दनीय कुरा हो’, दाहालले थपे, ‘किनकि, उनले सामान्य मानिस होइन, सार्वजनिक पदमा बसेका पदाधिकारीका कारण यस्तो स्थिति भोगिरहेका छन् ।’

यो पत्रकार मात्र नभइ आम नागरिकको पनि बाँच्ने र हिँडडुल गर्न पाउने हकविरुद्धको विषय भएकाले राज्य संयन्त्रले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ । ‘मेरो विचारमा त तपाईं सुरक्षित हुनुहुन्छ, तपाईंको सुरक्षाको ग्यारेन्टी हामी गछौं भनेर यतिञ्जेलमा गृह प्रशासनबाट विज्ञप्ति आइसक्नुपर्ने हो’, उनी थप्छन् ।

साम्पाङको कार्यशैलीलाई लिएर धरानमा पनि धेरथोर प्रश्न उठ्न थालेका छन् । पूर्वाञ्चल विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक गिरिश भट्टराईको भनाइमा, राजनीतिक दलप्रतिको वितृष्णाका कारण स्वतन्त्रसँग मतदाताले जे आश गरेका थिए, त्यो साम्पाङको कार्यशैलीका कारण निराशामा बदलिँदै गएको छ ।

‘स्वतन्त्र उम्मेदवार निर्वाचित हुँदा एक किमिसले बेलगाम घोडा जस्तो भए, राजनीतिक दलमा भएको भए राजनीतिक प्रशिक्षण हुन्थ्यो होला’, उनले अनलाइनखबरसँग भने, ‘तर, यिनलाई प्रशिक्षण गर्ने पनि कोही भएनन्, त्यसैले उनको कार्यशैली जनतालाई निराश बनाउने किमिसको भयो ।’

धरानका उपमेयर अइन्द्रविक्रम बेघा स्वयं पनि मेयरको कार्यशैलीप्रति असन्तुष्ट छन् । सुरुवाती चरणमा साम्पाङको सहयोगीकै रुपमा देखा परेपनि पछिल्लो समय रुष्ट बेघा भन्छन्, ‘धरानका प्रमुखले अभिभावकत्वको भूमिका निर्वाह गर्दै आफू मातहत रहेका सम्पूर्ण नागरिकहरुलाई सम्मान, सत्कार, समन्वय र सप्रेम व्यवहार गरेर अगाडि बढ्नुपर्ने हो । बाँकी गर्ने कुरा गर्न मिल्थ्यो मिल्दैन्थ्यो, त्यो लोकले देखिसकेको छ ।’

यस्तोमा मेयर साम्पाङ भने धरानका जनताले पिरो मेयर चुनेको भन्दै आफूले स्वभाव परिवर्तन नगर्ने बताउँछन् । ‘जनताले पिरो छान्यो । त्यो पोली रा’छ, मन पराउँदैनन् भने ठिक छ । जे गर्नु !’, उनले भनेका छन् ।

पत्रकारहरुले उनलाई सोधेका थिएः

हर्क साम्पाङको स्वभाव अलिकति भद्र हुनुपर्‍यो, मैं हुँ भन्ने खाल्को देखियो भन्छन् नि !

जवाफः त्यो परिमार्जन गर्न मिल्दैन । मैले बारम्बार भन्ने गर्छु नि… नुनलाई ढिक्कामा चाख्दा पनि नुनिलो नै हुन्छ, पानी लगाएर चाखे पनि नुनिलो हुन्छ, पाउडर पिसेर मसिनो धुलो बनाए पनि यस्तै हो । जे गरे पनि त्यही हुन्छ ।

यसले गर्दा जसले तपाईंप्रति जो आस्था विश्वास गर्छन्, उनीहरु रुष्ट हुन सक्छन् नि !

जवाफः ठिक छ, रुस्टिँदा के भो त मलाई । उनीहरुलाई कस्तो मेयर चाहिएको त ? भ्रष्टाचार गर्ने मेयर चाहिए छान्छन् त ।

हिजो मैले भोट माग्दा पनि त्यसै गरी मागेको हो । भोट दिए दिनु नदिए नदिनु, मेरो कुरा चाहिँ सुनाउँछु भनेको थिएँ । कान बन्द गर्छ भने पनि म सुनाइराख्छु । मेरो वरिपरि हिँडिराख्नु पर्छ भन्ने छैन भनेको थिएँ । म यस्तै हो ।

म चेन्ज हुँदिनँ । नेपालीलाई म इमान्दार बनाउँछु, साँचो सत्य बोल्ने । इमान्दार र मिहिनेती बनाउँछु । त्यसका लागि म चेन्ज भएँ भने खत्तम भइहाल्यो नि !
सभार: अनलाइनखबर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu