कपिलवस्तुमा माघ १२ गतेदेखि kpl premier cup-२०८१ हुदै
न्युजसेन्टर नेपाल– कपिलवस्तुमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता केपीएल प्रिमियर कप २०८१ हुने भएको छ । युवा अमन सामाजिक विकास केन्द्र, अर्श चेरिटेबल फाउन्डेसन र इन्डो नेपाल सामाजिक मञ्चको संयुक्त आयोजनामा माघ १२ गतेदेखि कपिलवस्तुको जवभारी खेल मैदानमा सुरु हुनेछ ।
खेल संयोजक रहिस शाहका अनुसार प्रतियोगितालाई वृहत र व्यवस्थित बनाउन सबै तयारीमा जुटेको बताउनु भयो । प्रतियोगितामा शिवराज नगरपालिका वडा नम्बर ६, ७, ८ र कृष्णनगर नगरपालिका वडा नम्बर ८ र ९ सहआयोजकका रूपमा रहनेछन् ।
आकर्षक पुरस्कार राशि
केपीएल प्रिमियर कपको विजेता टोलीले रु. १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु. ५१ हजार नगद पुरस्कार हात पार्नेछ । साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने म्यान अफ द सिरिज खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिका सदस्य तथा अतिथि सत्कार उपसमितिका संयोजक मिर्जा रसिद बेगले जानकारी दिनुभयो ।
खेलाडीका लागि विशेष नियम
प्रतियोगितामा सहभागी हुने टोलीले रु. ५,५०० को इन्ट्री शुल्क बुझाउनुपर्नेछ । खेल आर्थिक समितिका संयोजक अशोक यादवले प्रतियोगितालाई भव्य रूपमा सफल बनाउन खेलाडीहरूलाई सहभागी हुन आग्रह गर्नुभएको छ ।
इन्डो नेपाल सामाजिक मञ्चका संयोजक तथा खेल आयोजक अकरम पठानले खेलकुदको मध्यमले कपिलवस्तुको पहिचानका लागि क्रिकेट प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
नेपाली खेलाडीहरूलाई मात्र समावेश गरिने यो प्रतियोगिताले जिल्लाका प्रतिभाशाली क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्नेछ । युवा अमन सामाजिक विकास केन्द्रका अध्यक्ष बदरे अलमका अनुसार प्रतियोगिता खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
