२५ वर्षपछि चौधरी पक्राउ
पुन्हरी घिमिरे ।।
कपिलवस्तुमा २५ वर्षपछि लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–१ बस्ने ५१ वर्षीय कृष्णबहादुर चौधरीलाई पौष २१ गते साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।
जिल्ला अदालत तौलिहवाले २०५६ साल चैत २८ गतेको आदेशअनुसार चौधरीलाई लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टका अनुसार चौधरी अदालतको उक्त आदेशपछि फरार रहेका थिए ।
प्रहरीले चौधरीलाई खोजतलास गर्ने क्रममा विजयनगर गाउँपालिका–१ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई पौष २२ गते जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतले तोकिएको सजाय भुक्तानका लागि उनलाई कारागार चलान गरेको छ ।