प्यूठानमा किन बढ्दै छ आत्महत्या !
प्यूठानमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानले प्रस्तुत गरेको आत्महत्याको त्रि-वर्षिय तथ्यांकमा २०७९/८० मा ७४ जनाले आत्महत्या गरे। २०८०/०८१ मा ७९ जनाले आत्महत्या गरेका छन् भने २०८१ को पुस २३ गतेसम्म २९ जनाले आत्महत्या गरेको देखिन्छ। पछिल्लो ३ वर्ष यता १ सय ८२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ।
जिल्लामा देखिएको आत्महत्याको भयाभह: स्थितिलाई नियन्त्रण गर्न सबै पक्षको साझा प्रयास जरुरी रहेको औँल्याइएको छ।
प्यूठान नगरपालिकामा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले सबै पक्षको साझा प्रयासले मात्रै आत्महत्या न्यूनीकरण सम्भव हुने विचार व्यक्त गरे। ‘हामी सबैमा कर्तव्य बोध हुन जरुरी छ।’ योगीले भने ‘समाजमा रहेका नकारात्मक पक्षलाई हटाउन सबै सरोकारवाला पक्षबीच आपसि समन्वय सहकार्य अपरिहार्य छ।’
कार्यक्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोशन) ले आत्महत्या न्यूनीकरण गर्नका लागि सबै पक्षले आफ्नो जिम्मेवारी तथा दायित्वप्रति सचेत हुन जरुरी रहेको औँल्याए। उनले भने ‘समाजमा रहेका सबै पक्षले आ-आफ्नो जिम्मेवारी सहित आत्मबोध गरौं।’
प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले समुदायस्तरबाटै प्रभावकारी प्रयास भएमा आत्महत्या न्यूनीकरणमा आशातित सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरिन्।
नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले सरोकारवाला निकायले गर्ने हरेक कार्यक्रममा सबै पक्षको अपनत्व गराउनुपर्नेमा जोड दिए।
नेपाल सरकार गृह मन्त्रालय र काठमाण्डौ विश्वविद्यालय मानसिक स्वास्थ्य केन्द्रको संयोजनमा कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जानकारी गराएको छ।
कार्यक्रममा स्वास्थ्य केन्द्रका चिकित्सकहरु डाक्टर टीका रिजाल र डाक्टर जया शिल्पकारले मानसिक रोगका कारण, निदान र उपचारबारे आफ्नो प्रस्तुति राखेका थिए।