जनता समाजवादी पार्टीद्वारा चोरी नियन्त्रणको माग
न्युजसेन्टर नेपाल,कपिलवस्तु-
जनता समाजवादी पार्टी, कपिलवस्तुले जिल्लाका बजार क्षेत्रहरूमा बढ्दो चोरीको गतिविधिप्रति ध्यानाकर्षण गराउँदै चोरी नियन्त्रणका लागि तत्काल पहल गर्न जिल्ला प्रशासन कार्यालयसग माग गरेको छ ।
पार्टीले बुधबार जिल्ला प्रशासन कार्यालय, तौलिहवा, कपिलवस्तुमा सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै चोरीका कारण नगरवासीहरूमा असुरक्षित वातावरण सिर्जना भएको बताएको छ ।
ज्ञापनपत्रमा तौलिहवा नगरपालिका क्षेत्रका बजार क्षेत्रमा एक हप्तादेखि चोरीका घटनाहरू बढ्दै गएको र प्रहरी प्रशासनले यसप्रति प्रभावकारी कदम नचालेको आरोप लगाइएको छ ।
जनता समाजवादी पार्टीका सचिव उदयभान यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा चोरहरूलाई तत्काल नियन्त्रणमा लिई सुरक्षाको वातावरण कायम गर्न, चोरीमा संलग्न व्यक्तिहरूलाई खोजी गरी कारबाही गर्न, र जनताको धन र सुरक्षाको ग्यारेन्टी गर्न प्रशासनसँग जोडदार माग गरिएको छ ।
पार्टीले प्रशासनले यस विषयमा तुरुन्त कदम नचाले जनस्तरबाट विरोधका कार्यक्रम सञ्चालन गरिने चेतावनीसमेत दिएको छ ।
