Connect with us
Kapilvast Forest

७० वर्ष पुरानो भवनमै पठनपाठन, जोखिममा विद्यार्थी

२०८१, २६ माघ शनिबारमा प्रकाशित

दाङ 

महेन्द्र बहुमुखी क्याम्पस दाङको भवन जीर्ण अवस्थामा पुगेको छ । ६९ वर्ष पुरानो भवनमा पठनपाठन हुने गरेकाले हजारौँ विद्यार्थी र शिक्षक कर्मचारी जोखिममा रहेका हुन् । घोराही–१५ भरतपुरमा रहेको क्याम्पसको अधिकांश भवनहरू जीर्ण भएका छन् । कक्षा कोठाका भित्ता चर्किएका छन् भने झ्यालहरूमा टुट्फूट देखिन्छ । क्याम्पस प्रशासनका भवनदेखि विद्यार्थी पढ्ने भवनहरू जीर्ण भएका छन् । वैकल्पिक भवन नहुँदा तिनै जीर्ण भवनमा पठन पाठन तथा परीक्षाहरू भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

६९ वर्ष पुरानो भवनमा विद्यार्थीहरू पढ्न बाध्य रहेको क्याम्पस निमित्त प्रमुख राजेन्द्र रेग्मीले बताउनुभयो । ‘२०१५ माघ ९ गते क्याम्पस स्थापना भयो’– उहाँले भन्नुभयो– ‘क्याम्पस स्थापना भएपछि २०१६ मा भवन निर्माण भएको थियो त्यसपछि केही भवन बने पनि विद्यार्थीको चापले नयाँ भवनमा पनि कक्षा कमी छ, त्यसैले विद्यार्थीलाई समेट्न सकिएका छैन ।  त्यही भएर अहिले पनि पुरानै भवनमा विद्यार्थीलाई पठनपाठन गराउनुपर्ने बाध्यता छ ।’

क्याम्पसको भवन मर्मत सम्भार र नयाँ भवनका लागि पटक–पटक शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयलाई भनिए पनि खासै सुनाइ नभएको क्याम्पसले जनाएको छ । अहिले सङ्घीय सरकारको सहयोगमा एउटा भवन बनि रहेको छ, तर त्यसमा सबै विद्यार्थीहरूलाई पठनपाठन गराउन नसकिएको उहाँले बताउनुभयो ।

‘नयाँ भवन निर्माणको लागि प्रस्तावना पेस गर्ने तयारीमा छौँ’– क्याम्पस निमित्त प्रमुख रेग्मीले भन्नुभयो– ‘आशा गरौँ यस पटक सुनुवाइ हुन्छ कि ?’ जीर्ण भवनमा पढाउँदा र पढ्ने विद्यार्थीलाई समेत तनाव सिर्जना हुने गरेको उपप्राध्यापक दिनेश भट्टराईले बताउनुभयो । ‘जीर्ण भवनले विद्यार्थी भयभीत हुन्छन्’– भट्टराईले भन्नुभयो– ‘शिक्षा लिने ठाउँ नै ढुक्कसँग बस्ने अवस्था छैन विद्यार्थीले कसरी सिक्छ ?’

‘यस क्याम्पसबाट हजारौँ मानिसले आफ्नो जीवन बदले तर क्याम्पसको जीवन बदल्न खासै कसैले ध्यान दिएनन्’– भट्टराईले भन्नुभयो– ‘साबिक रापतीकै पुरानो र ठुलो क्याम्पसको गरिमा बढाउन अब सबैले सुविधा सम्पन्न भवन बनाउन ध्यान दिनुपर्छ ।’

प्रशासनिक भवन पनि जीर्ण

क्याम्पस प्रशासनको भवन पनि जीर्ण अवस्थामा छ । जीर्ण भवनबाट क्याम्पस प्रशासनले सेवा दिँदै आएको छ । महेन्द्र बहुमुखी क्याम्पस प्रशासनमा २७ जना कर्मचारी छन् भने ८२ जना प्राध्यापक र उपप्राध्यापक रहेको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावले एउटै कोठामा चार जना बसेर सेवा दिँदै आएको प्रशासनले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu