समयथान क्याम्पसमा मतगणनाप्रति असन्तुष्टि, सञ्चालक समिति सदस्यद्वारा राजीनामा
कपिलवस्तु – कपिलवस्तुको समयथान बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै क्याम्पस सञ्चालक समिति सदस्य गोविन्द खत्री क्षेत्रीले राजीनामा दिएका छन ।
खत्री क्षेत्रीले क्याम्पस सञ्चालक समितिका अध्यक्षलाई बुझाएको राजीनामा पत्रमा मतगणनाको प्रक्रिया एकपक्षीय देखिएको र पुनः मतगणनाको माग पटक–पटक गर्दा पनि बेवास्ता गरिएको बताएका छन् । उनले निर्वाचन समितिले निष्पक्ष र मर्यादित ढंगबाट काम नगरेको आरोप लगाएका छन् ।
“स्वच्छ र निष्पक्ष निर्वाचन प्रक्रिया नअपनाइ एकपक्षीय रूपमा नतिजा घोषणा भएकाले यस्तो व्यवस्थामा बसिरहन उचित ठानिन,” खत्री क्षेत्रीले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन ।
गोविन्द्रको राजीनामासँगै क्याम्पसमा विद्यार्थी राजनीति र प्रशासनिक प्रक्रियामा नयाँ बहस सुरु भएको छ । मतगणनामा आशंका व्यक्त गरिएपछि विद्यार्थी संगठनहरू पनि आन्दोलित हुने संकेत देखिएको छ ।
यस विषयमा निर्वाचन समिति र क्याम्पस प्रशासनले कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।
