Connect with us
Kapilvast Forest

तीनकुने घटनामा न्यायिक छानबिन बारे विचार गर्ने प्रधानमन्त्रीको भनाई

२०८१, २२ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछिको घटनामा निष्पक्ष छानबिन हुने दाबी गरेका छन् ।थाइल्यान्डको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले सबै विषयमा न्यायिक छानबिनकै आवश्यकता नहुने बताउँदै निष्पक्ष छानबिन सरकारले गर्ने जिकिर गरे ।‘न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सबै कुरामा न्यायिक छानबिन नै हुनुपर्छ भन्ने छैन । त्यो हामी विचार गर्छौं । निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने भनेर ।’
तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ७८ जनालाई प्रहरीले मुद्दा चलाएको छ । प्रहरीको रिपोर्ट अनुसार सो दिन २० राउन्ड गोली चलाइएको थियो ।