सरकारले अपेक्षाकृत रूपमा काम गर्न सकेन : महामन्त्री थापा
काठमाडौँ –
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनले सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गरेका हुन् ।बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले गर्ने काममा टेवा पुर्याउन संयन्त्रले आवश्यक सुझाव दिने गरेको भए पनि उपलब्धिमूलक काम हुन नसकेको बताए । उनले कर्मचारी सरुवा बढुवा र नियुक्तिको काम संयन्त्रले नभई सरकारले गर्ने कुरामा सबै स्पष्ट हुन जरुरी रहेको समेतआग्रह गरे ।
थापाले भने, ‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो, त्यो गतिमा काम हुन सकिरहेको छैन । म पनि संयन्त्रको जिम्मेवारीमा छु । कहिले काहीँ साथीहरूलाई के लाग्छ भने संयन्त्रले सबै कुरा गर्छ । यसबारे कम्तीमा मेरो क्षेत्रका साथीहरू ‘क्लियर’ हुनुपर्छ । सरकारले गर्ने काम सरकारले गर्नुपर्छ, संयन्त्रले गर्ने होइन । नियुक्ति, सरुवा, बढुवाको काम पनि राजनीतिक संयन्त्रले गर्नुपर्छ भनेर ठान्यौँ भने त यो ‘डेमोक्रेटिक गभर्मेन्ट’ नै भएन नि ।’
महामन्त्री थापाले थपे, ‘प्रधानमन्त्रीको काम प्रधानमन्त्री र मन्त्रीको काम मन्त्रीले गर्ने हो । संयन्त्रको काम सरकारले लिने नीतिगत सुधारको विषयमा बल पुर्याउने हो । केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर हामीले सहयोग गरिरहेका छौँ । तर बिँड तातेर केही नहुँदो रहेछ’ ताप्के पनि तात्नुपर्ने रहेछ । हामीलाई छिटो काम चाहिएको छ । तर किन भइरहेको छैन ?’एमाले–काँग्रेस नेतृत्वको संयुक्त सरकारले चाहेजस्तो उपलब्धि दिन नसकेको कारण आफू सधैँ प्रश्न गरिरहेको समेत थापाले जिकिर गरे ।
महामन्त्री थापाले कांग्रेस पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने भन्दै कोही पनि अलमलमा नरहन आग्रह गरे। २०८३ सालको मंसिरभित्र पार्टीको महाधिवेशन भइसक्ने उनको दाबी छ । पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर भएको बनेका कारण असन्तुष्टि रहेको भन्दै संगठन निर्माणमा जुट्न पार्टी कार्यकर्ताहरूलाई आह्वान गरे ।