पाण्डेलाई निलम्बन गरी शाहलाई कारबाहीको माग सहित महानगरका कर्मचारी आक्रोशित
काठमाडौं –
काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र मेयर बालेन्द्र शाहको स्वकीय सचिवालयप्रति आक्रोश व्यक्त गरेका छन् ।२१ चैतमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यकक्षमा पस्न लाग्दा नगर प्रहरी प्रमुख पाण्डे र उनको कमाण्डमा खटिएको प्रहरीबाट भएका बाधा अवरोध गरेको भन्दै कर्मचारीहरूले रोष प्रकट गरेका हुन् ।
यस्तै सचिवालयका नाममा पदीय मर्यादा विपरित सामाजिक संजाल, विभिन्न सञ्चार माध्यममा कपोलकल्पित खबर पठाउने गरेको भन्दै भ्रष्टाचार जस्तो गम्भीर आरोपलाई बिना प्रमाण र तथ्य बदनियतपूर्ण तरिकाले उचाल्ने काम गरेको भन्दै कर्मचारीहरू आक्रोशित भएका छन् ।स्थानीय तह कर्मचारी युनियन, महानगरका अध्यक्ष नरबहादुर साउदका अनुसार मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहको अभिव्यक्तिमाथि आपत्ति रहेको कर्मचारीको ठहर छ ।
‘मेयरसाबका प्रमुख स्वकीय सचिव भूपदेव शाहले कर्मचारीहरू पनि जेल जानसक्ने लगायतका अभिव्यक्ति दिनुभएको छ,’ साउदले भने, ‘उहाँले आफूलाई जनप्रतिनिधि नै ठानेर जसरी भन्नुभएको छ । त्यो भन्न मिल्दैन भनेका हौं ।कर्मचारीहरूले आरोप, आदेश, निर्देशनबाट प्रशासन संयन्त्र सञ्चालन गर्न खोज्दा हाल यो समस्या पैदा भएको बताएका छन् ।