धरानमा जंगल भित्र मृत भेटिएकी महिलाको पहिचान खुल्यो , श्रीमान् कोरियामा
विराटनगर-
गत सोमबार सुनसरीको धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।मृतक महिला धनकुटाको महालक्ष्मी नगरपालिका– २ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।डीएसपी खतिवडाका अनुसार उनको माइती महालक्ष्मी नगरपालिका(१ मा पर्छ ।
दाहाल सुनसरीको इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आएकी थिइन् । प्रहरीका अनुसार आफन्तले शवको पहिचान गरेका हुन् ।प्रहरीका अनुसार उनका श्रीमान् प्रेम दाहाल वैदेशिक रोजगारीका लागि कोरियामा छ्न् ।धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा सोमबार दिउँसो महिलाको शव फेला परेको थियो । गोठालो गएकाहरुले वनभित्र लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
महिलाको घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेस लगाएर शव छाडेजस्तो देखिएको प्रहरीको भनाइ छ ।शवको कम्मर मुनिको कपडा खोलिएको अवस्थामा थियो । प्रहरीका अनुसार अन्यत्र हत्या गरी महिलाको शव घिसारेको जस्तो पनि देखिन्छ । महिलाको पहिचान खुलेपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार मृतक महिला करिब २ वर्षअघि छोरा पढाउनका लागि इटहरीमा डेरा गरी बस्न थालेकी थिइन् ।