खेलकुद प्रवर्द्धनको लागि विजयनगर–५ मा भलिबल प्रतियोगिता प्रारम्भ
विजयनगर (कपिलवस्तु), वैशाख १ – कपिलवस्तुको विजयनगर गाउँपालिका–५, देवीपुरमा भलिबल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। देवीपुर खेलकुद युवा समाजको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा महिला तथा पुरुष दुवै तर्फका खेलहरू सञ्चालन भइरहेका छन्।
खेल संयोजक लोकबहादुर थापाका अनुसार प्रतियोगितामा पुरुष तर्फ ८ टोली र महिला तर्फ ३ टोली गरी कुल ११ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताका विजेताले प्रथम पुरस्कार स्वरूप नगद २० हजार रुपैयाँ तथा द्वितीय स्थान हासिल गर्ने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले खेलकुदले युवामा अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्न सहयोग गर्ने बताउँदै यस्ता कार्यक्रमलाई गाउँपालिकाबाट निरन्तर प्रोत्साहन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि मिर्जा राशिद वेगले खेलकुद युवालाई गलत मार्गबाट जोगाउँदै सकारात्मक ऊर्जा र सामाजिक योगदानतर्फ डो-याउने माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले गाउँस्तरमै यस्तो स्तरीय प्रतियोगिता सञ्चालन हुनु सुखद पक्ष भएको बताउनुभयो।
कार्यक्रम टीका राकस्कोटीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगिताको सफल सञ्चालनमा स्वदेश तथा विदेशमा रहेका विभिन्न सहयोगी व्यक्तिहरूको आर्थिक तथा नैतिक योगदान रहेको आयोजकले जानकारी दिएको छ।
स्थानीय युवाको सक्रिय सहभागिता, आयोजकको कठिन परिश्रम र समुदायको ऐक्यबद्धताले प्रतियोगितालाई अझ उत्साहजनक र सफल बनाएको छ।