बुद्धभूमिमा दोस्रो नगर सम्मेलन सम्पन्न, जनक परियारको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन

कपिलवस्तु — मुक्ति समाज बुद्धभूमिको आयोजनामा बुद्धभूमि नगरपालिकास्थित सभाहल, हनुमानचोक बुड्ढीमा दोस्रो नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले जनक बहादुर परियारको अध्यक्षतामा २१ सदस्यीय नयाँ नगर कमिटी गठन गर्दै संगठन विस्तार र सशक्तीकरणको प्रतिबद्धता व्यक्त गरेको छ।
नवगठित नगर कमिटीमा सुन्दरी बिक र सुव बहादुर बिक उपाध्यक्ष, बसन्ता बिक सचिव, राम बहादुर दर्जी र आरुपा सुनार उप–सचिव तथा अस्मिता सुनार कोषाध्यक्ष चयन भएका छन्। अन्य सदस्यहरू समावेश गरिँदै नगर तहको संगठन सुदृढ बनाउने निर्णय गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) कपिलवस्तु जिल्ला सचिव तथा मुक्ति समाज स्थायी समिति सदस्य सिवि गहतराजले सम्मेलनलाई सम्बोधन गर्दै भने, “सामाजिक परिवर्तन र समानताको लडाइँमा यो सम्मेलन एक महत्वपूर्ण कदम हो। नेतृत्व परिवर्तन मात्र होइन, दृष्टिकोण परिवर्तनको सुरुवात हो।”
विशिष्ट अतिथि नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश सचिवालय सदस्य लाल बहादुर सुनारले संगठनलाई व्यवहारिक रुपमा जनस्तरसम्म लैजाने गरी काम गर्न आग्रह गर्दै भने, “अब विचार, संगठन र जनसंपर्क तीनवटै पाटोमा सशक्त अभियान आवश्यक छ।”
त्यस्तै, मुक्ति समाज कपिलवस्तुका जिल्ला अध्यक्ष राम प्रकट कोरीले सम्मेलनको सफलताप्रति बधाई दिँदै भने, “यो नेतृत्वले संगठनलाई नयाँ ऊचाइमा पुर्याउनेछ। हामी सबैको साथ, समर्पण र योगदान आवश्यक छ।”
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शारदा शर्मा, मुक्ति समाज केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्य सुमित्रा परियार, जिल्ला कमिटी सदस्य गोविन्द आचार्य, प्रदेश कमिटी सदस्य राम बहादुर गन्धर्व, पार्टी नगर कमिटी अध्यक्ष ध्रुव न्यौपाने, शिवराज नगर अध्यक्ष फर्स बहादुर विक लगायत दर्जनौं नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सम्मेलनले संगठनभित्र नेतृत्व हस्तान्तरण, युवाको सहभागिता र अभियानमुखी कार्यदिशालाई प्राथमिकता दिने गरी रणनीति बनाउने निर्णयसमेत गरेको छ।
मुक्ति समाज बुद्धभूमिले आयोजनाको पूर्ण सफलता र सहभागितामूलक सम्मेलनका लागि सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेको छ।

