लुम्बिनीमा विद्युतीय सवारी ‘थन्किदै’: कानुनी अन्योलताले करोडौंको सम्पत्ति जोखिममा
लुम्बिनी-
लुम्बिनी विकास कोषद्वारा पर्यटक सेवा सुधारका लागि ल्याइएका अत्याधुनिक विद्युतीय सवारीसाधन कानुनी अन्योल र अनधिकृत प्रयोगका कारण थन्किएका छन्। यसले राज्यको करोडौं मूल्य बराबरको सम्पत्तिमा प्रत्यक्ष असर पुर्याएको छ।वैशाख १३ गते लु१झ ६९६ नम्बरको विद्युतीय भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति पुगेको छ। सोही भ्यान गत चैत २३ गते अनधिकृत व्यक्तिले चलाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। चालकसहित सवार व्यक्तिहरू कोषसँग सम्बन्धित नभएको पुष्टि भएको छ।
कोषका सूचना शाखाका कर्मचारी राजन बस्नेतले चलाएको, सवारीको अनधिकृत प्रयोगले साउन १९ गते अर्को दुर्घटना गराएको थियो। मर्मतका लागि करिब २८ लाख रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। उक्त दुर्घटनामा रविन्द्र यादव घाइते भएका थिए भने एक मोटरसाइकलमा समेत क्षति पुगेको छ।वर्तमान अवस्थामा, लुम्बिनी क्षेत्रका अधिकांश भ्यान र बसमा विभिन्न किसिमका क्षति पुगेका छन्—कतै पाङ्ग्रा पञ्चर, कतै ढोका ह्यान्डल गायब, कतै सिसा फुटेको अवस्थामा छन्।
एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गत प्राप्त १९ वटा विद्युतीय सवारीमध्ये धेरैजसो बिग्रिएका छन्।अदालतले सेतो नम्बर प्लेट भएका सवारीलाई हरियो प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार प्रयोगमा ल्याउन एक महिना समयसीमा तोकेको भए पनि कार्यान्वयन हुन नसकेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताएका छन्। कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईका अनुसार हाल हरियो प्लेट प्रक्रिया अघि बढाइएको र छिट्टै नियमित सञ्चालनमा ल्याइनेछ।