श्रमिकको योगदानले देशमा गणतन्त्र आएको प्रचण्डको भनाई
काठमाडौं –
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिकहरूको योगदानले आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको बताएका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीहरूलाई शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गमा ऐक्यबद्धता पनि प्रकट गरेका छन् ।‘सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको कार्यभार हो । आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो’, उनले सन्देशमा भनेका छन् ।
आठ घण्टा कार्यदिनको मागसहित आफ्ना अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदूरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदूरहरुले १ मईलाई अन्तरराष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।